काठमाण्डाै – सन् २०२७ को इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्शन भारतमा हुने भएको छ ।
पछिल्ला वर्षहरूमा विदेशमा आयोजना हुँदै आएको प्रचलनलाई तोड्दै भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले आउँदो वर्षको आईपीएल अक्शन भारतमै गर्ने निर्णय गरेको हो ।
हिजो बसेको आईपीएल गभर्निङ काउन्सिलको बैठकले यो निर्णय गरेको हो ।
सन् २०२३ मा केरलाको कोचीमा भएको अक्शनपछि पछिल्ला संस्करणहरू दुबई, जेद्दा र अबुधाबीमा आयोजना भएको थियो । यद्यपि यसपटक भने बीसीसीआई र आईपीएलले अक्शनलाई भारतमै फर्काउने निर्णय गरेका छन् र यो ‘मिनी–अक्शन’ हुनेछ ।
यस्तै अर्काे वर्ष हुने मेगा अक्शन फेरि विदेशमै आयोजना हुनसक्ने क्रिकेटसम्बन्धी जानकारी दिने बेवसाइट ‘क्रिकबज’ ले जनाएको छ ।
यो निर्णय फ्रेन्चाइजहरूलाई दिइएको आश्वासनअनुरूप नै छ, उनीहरूले ‘मिनी–अक्नश’ का लागि आफ्ना टोलीहरू विदेश लैजाँदा आइपर्ने व्यवस्थापकीय तथा सञ्चालनगत चुनौतीहरूबारे चिन्ता व्यक्त गरेका थिए ।
गएको वर्ष अबुधाबीमा भएको अक्शनका क्रममा बीसीसीआईका सदस्यहरूले उनीहरूको धारणालाई ध्यानमा राखेको मानिन्छ । त्यहीअनुसार ‘गभर्निङ काउन्सिल’ (जीसी) ले यस वर्षको अक्शनका लागि भारतकै कुनै शहरलाई स्थलका रूपमा छनोट गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
