पोखरा । रसुवाको भोटेकोशी बाढीबाट अभिभावक विहीन भएका बालबालिकालाई कास्कीका बालगृहहरुले आश्रय दिने भएका छन् । रसुवा, नुवाकोट, गोरखा, धादिङ लगायत जिल्लामा यसले ठूलो क्षति पुगेको छ । भदौ १० को बाढीले धेरै बालबालिकाले आफ्ना अभिभावक गुमाएका छन् । त्यसको तथ्यांक सरकारले सार्वजनिक गरिसकेको छैन ।
कास्कीमा रहेका २५ वटा बालगृहहरुले राज्यले आवश्यक प्रक्रिया पूरा गरेर जिम्मेवारी दिए १ सय ७० बालबालिकाको दीर्घकालीन संरक्षण गर्ने बताएका छन् । बालगृहहरुको सञ्जाल कास्कीका अनुसार बाढी प्रभावित बालबालिकालाई आफ्नो क्षमता र स्रोतले समेट्ने गरी संरक्षण दिन तयार रहेको हो ।
जिल्लामा रहेका बालगृहहरूसँग पर्याप्त छलफल, परामर्श र प्रतिबद्धता लिएर बाढी प्रभावित बालबालिकाको संरक्षणका लागि राज्यसँग आग्रह गरिएको बालगृह सञ्जालका संस्थापक अध्यक्ष एवं नमस्ते कम्युनिटी फाउन्डेसनका सञ्चालक भीष्मराज पौडेलले जानकारी दिए । ‘हामीले बालगृहको वास्तविक क्षमता हेरेर माग गरेका हौँ,’ उनले भने, ‘राज्यले जिम्मेवारी दिएमा आवश्यक प्रक्रिया पूरा गरेर तत्कालै बालबालिकालाई संरक्षणमा लिन सक्छौँ ।’
सञ्जालकी अध्यक्ष शोभा पहारीले तत्कालका लागि १०८ जना बालबालिकाको संरक्षण गर्ने जिल्लाका बालगृहहरूले प्रतिबद्धता जनाएका बताइन् । त्यसबाहेक आकस्मिक अवस्थाका लागि थप ६२ जनालाई समेत व्यवस्थापन गर्न सकिने उनको भनाई छ । ‘राज्यले जिम्मेवारी दिन्छ भने हामी अभिभावकविहीन बालबालिकाको दीर्घकालीन संरक्षण गर्न तयार छौँ,’ पहारीले भनिन्, ‘त्यसका लागि बालगृहमा ठाउँ, बजेट र सहयोगी दाताको प्रतिबद्धता समेत पाएका छौं ।’
बाढी तथा विपद्मा अभिभावकबाट छुट्टिएका बालबालिकाको पहिचान, पारिवारिक अवस्था र आफन्तको खोजी गरी सम्भव भएसम्म परिवारमै पुनर्मिलन गराउनुपर्नेमा उनको जोड छ । परिवारमा पुनःस्थापना सम्भव नभएको अवस्थामा मात्रै आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी बालगृहमा दीर्घकालीन संरक्षण दिनुपर्ने पहारी बताउँछिन् ।
कास्कीका बालगृहमा हाल ४ सय ४० जना बालक र ५ सय ४ जना बालिका गरी ९ सय ४४ जना बालबालिका संरक्षणमा रहेका छन् । यसअघि कास्कीबाट मात्रै १ हजार ३ सय भन्दा बढी बालबालिकालाई परिवार तथा समुदायमा पुनःस्थापित गरिएको प्रादेशिक बाल अधिकार समिति सदस्य विजयकुमार प्रधान बताउँछन् । आवासीय बालगृहमा एक जना बालबालिकाको दीर्घकालीन संरक्षण गर्दा शिक्षा, स्वास्थ्य, आवास, खानपान, लत्ताकपडा र अन्य आवश्यकतासहित कम्तीमा २५ देखि ३० लाख रुपैयाँसम्म खर्च लाग्न सक्ने उनको हिसाव छ ।
भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपुरलगायत जिल्लाका करिब १७ हजार बालबालिका शिक्षाबाट प्रभावित भएको प्रारम्भिक तथ्यांक छ । प्रभावित १५ स्थानीय तहमा १ सय ९७ जना बालबालिका अभिभावकविहीन भएको प्रारम्भिक जानकारीसमेत प्राप्त भएको प्रधानले जानकारी दिए । सञ्जालले प्रभावित क्षेत्रमा रहेका बालबालिकाका लागि करिब ६ लाख रुपैयाँ बराबरका आवश्यक राहत सामग्री उपलब्ध गराएको छ ।
