चितवन । कृष्णभीर सडकखण्डको निर्माण कार्य करिब ९० प्रतिशत सम्पन्न भएको छ। सडक डिभिजन भरतपुरका अनुसार कृष्णभीरको २७० मिटर नव–निर्मित सडकखण्डमा कटिङ, ग्राभेलिङ तथा सब–सर्फेस ड्रेनेज निर्माणको काम सम्पन्न भइसकेको छ।
बाँकी रहेको सब–बेस निर्माणको काम आज बेलुकासम्म पूरा गर्ने गरी निर्माण कार्य अघि बढाइएको डिभिजनले जनाएको छ। निर्माणलाई तीव्रता दिन रातको समयमा समेत काम भइरहेको छ। राति काम गर्नका लागि आवश्यक फ्लड लाइटको व्यवस्था गरिएको छ।
मन्त्रालयका अनुसार असोज १ गते (भोलि)देखि कृष्णभीर सडकखण्डमा सबै प्रकारका सवारीसाधन दुईतर्फी रूपमा सञ्चालन गरिनेछ। सडक निर्माणको कामलाई समयमै सम्पन्न गर्दै यातायात सञ्चालनलाई सहज बनाउने उद्देश्यले निर्माण कार्यलाई तीव्रता दिइएको हो।
