अमेरिकाको न्युयोर्क शहरले सन् २००१ सेप्टेम्बर ११ मा भएको आतङ्कवादी आक्रमणको २५औँ वार्षिकोत्सव आज मनाउँदैछ ।
स्मृति सभामा राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी नहुने भए पनि पूर्वराष्ट्रपतिहरू जर्ज डब्ल्यू बुश, बाराक ओबामा, बिल क्लिन्टन र जो बाइडेन तथा न्युयोर्कका पहिलो मुस्लिम मेयर जोहरान ममदानी सहभागी हुने समाचार संस्था एएफपीले जनाएको छ ।
राष्ट्रपति ट्रम्पले न्युयोर्कको ‘ग्राउन्ड जिरो’ को सट्टा पेन्टागनमा श्रद्धाञ्जली अर्पण गर्नुहुनेछ ।
समारोहमा मृतकका परिवारका सदस्यहरूले सबै पीडितको नाम स्मरण गर्नुका साथै घटनाका प्रमुख समय सम्झन घण्टी बजाउनेछन् । न्युयोर्क हार्बरमाथि मृतक प्रत्येक व्यक्तिको सम्झनामा २ हजार ९७७ बत्तीको ड्रोन प्रदर्शन गरिनेछ ।
स्मृति दिवसका अवसरमा न्युयोर्कमा सुरक्षा व्यवस्था कडा गरिएको छ । प्रहरी आयुक्त जेसिका टिस्चले सावधानीका लागि ड्रोनविरोधी टोली परिचालन गरिने बताउनुभयो ।
सन् २००१ सेप्टेम्बर ११ मा ओसामा बिन लादेनको नेतृत्वमा रहेको अल–कायदाका १९ सदस्यले ४ वटा विमान अपहरण गरेका थिए । २ वटा विमान न्युयोर्कको वर्ल्ड ट्रेड सेन्टरका ‘ट्विन टावर्स’ मा ठोक्काइएको थियो भने अर्कोले अमेरिकी सेनाको मुख्यालय पेन्टागनको पश्चिमी मोहडालाई क्षति पुर्याएको थियो । चौथो विमान यात्रुहरूले प्रतिरोध गरेपछि पेन्सिलभेनियाको एउटा मैदानमा दुर्घटनाग्रस्त भएको थियो ।
सेप्टेम्बर ११ आक्रमणपछि गगनचुम्बी टावरबाट फैलिएको धूलो र विषाक्त वायुका कारण हजारौँ मानिसमा क्यान्सरलगायतका रोग देखिएको बताइएको छ । आक्रमणसँग सम्बन्धित रोगका कारण अहिलेसम्म ९ हजार ४०० भन्दा धेरै जनाको ज्यान गइसकेको छ ।
आक्रमणको १ महिना नबित्दै अमेरिकाले अन्तर्राष्ट्रिय गठबन्धनको साथ लिएर अल–कायदालाई उन्मूलन गर्न र बिन लादेनलाई पत्ता लगाउन अफगानिस्तानमा आक्रमण गर्याे । अमेरिकी सैनिकहरूले बिन लादेनलाई लामो समय पत्ता लगाउन सकेनन् । तर सन् २०११ मा छिमेकी पाकिस्तानमा अमेरिकी सेनाले उनलाई मारिदिए ।
सेप्टेम्बर ११ को आक्रमणका आरोपी योजनाकार खालिद शेख महमद सन् २००३ मा पाकिस्तानमा पक्राउ परेका थिए । त्यसयता उनी ग्वान्टानामो बेमा अमेरिकी हिरासतमा छन् र अझै पनि अभियोजनको पर्खाइमा छन् ।
