बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ निवासी तीन वर्षीया बालिकाको बलात्कारपछि भएको हत्या प्रकरणमा पक्राउ परेका १० जनालाई बारा जिल्ला अदालतले रिहा गर्न आदेश दिएको छ।
जिल्ला न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले बिहिवार मुख्य प्रतिवादी बनाइएका प्रोग्रेश भनिने पुरग्रेश चौधरीलाई २० हजार रुपैयाँ धरौटीमा र अन्य ९ जनालाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो।
साधारण तारेखमा छुट्नेहरूमा पुरग्रेशका बुवा इन्द्रजीत, आमा बबिता, पत्नी पुष्पा, दिदी ममताका साथै सविता चौधरी, बिन्दु चौधरी, टेकबहादुर थापामगर, नवीन विक र शेष हस्मुदिन रहेका छन्। अदालतले पर्याप्त र ठोस प्रमाण नपुगेको भन्दै साधारण तारेखमा छाड्न आदेश दिएको हो ।
पीडित बालिकाका बुवा मनोज चौधरीले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई अपहरण, जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा अदालत पेस गरेकोमा अदालतको आदेशपछि उनीहरू बिहीबार साँझ हिरासतमुक्त भएका हुन्।
यसअघि सोही इजलासले घटनामा संलग्न भनिएका दुई नाबालकलाई भने मुद्दाको अन्तिम टुङ्गो नलागेसम्मका लागि वीरगञ्जस्थित बाल सुधार गृह पठाउने आदेश दिएको थियो। पक्राउ परेका दुई नाबालकमध्ये एक जनाले बालिकालाई चकलेट दिएर बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेका छन् र उनको बयान घटनास्थल तथा शवको अवस्थासँग मिलेको प्रहरीको भनाइ छ।
गत साउन ३१ गतेदेखि हराएकी ती बालिकाको शव भदौ २ गते घरनजिकैको खाली घरमा भेटिएपछि देशभर विरोध प्रदर्शन भएको थियो। पछि गृह मन्त्रालयमा गृहमन्त्रीसहित सरकारका अन्य ५ जना मन्त्री, प्रहरी महानिरीक्षक र पीडित परिवारबीच तीन बुँदे सहमति भएपछि मात्र भदौ ७ गते बालिकाको अन्त्येष्टि गरिएको थियो।
