काठमाण्डौ – काठमाण्डौ रेड्सले नेपाल भलिबल लिग (एनभीएल) को लिग चरणको खेलमा खप्तड फाल्कन्सलाई ३–२ को सेटमा पराजित गरेको छ ।
काठमाण्डौले खप्तडविरुद्ध पहिलो सेट १९–२५ ले गुमाए पनि दोस्रो सेटमा २५–१८ को जित निकाल्दै खेल बराबरीमा ल्याएको थियो । तेस्रो सेट २०–२५ ले खप्तडले जितेपछि काठमाण्डौ दबाबमा परेको थियो ।
तर चौथो सेटमा काठमाण्डौले २५–१९ को जित निकाल्दै खेल पाँचौँ तथा निर्णायक सेटमा पुर्यायो । निर्णायक सेटमा काठमाण्डौले १५–१३ को जित निकाल्दै ३–२ को जित हात पारेको हो । यो जितसँगै काठमाण्डौले लिग चरणमा १० अंक जोडेको छ ।
काठमाण्डौ यसअघि नै प्लेअफमा पुगिसकेको थियो । यसअघि हिजो भएको खेलमा कर्णाली शिवराजले मधेश वारियर्सलाई ३–१ को सेटमा पराजित गरेको छ । कर्णाली पनि प्लेअफमा पुगिसकेको छ ।
हिजै अर्को खेलमा अन्नपूर्ण स्पाइकर किंग्सले सगरमाथा स्म्यासर्सलाई ३–१ को सेटमा पराजित गर्दै १२ अंकसहित लिग चरणको शीर्ष स्थानमा रहेर सोझै फाइनलमा स्थान बनाएको छ । लगातार तेस्रो हार बेहोरेसँगै सगरमाथा स्म्यासर्स प्रतियोगिताबाट बाहिरिएको छ ।
अब फाइनल प्रवेशका लागि काठमाण्डौ रेड्स र कर्णाली शिवराजबीच आज बेलुका ६ बजे प्लेअफ खेल हुनेछ । लिग चरणमा दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने प्रावधानअनुसार यी दुई टोलीबीच प्रतिस्पर्धा हुन लागेको हो ।
एनभीएलको फाइनल खेल भने भोलि शनिबार हुनेछ । प्रतियोगितामा ६ टोली सहभागी छन् । पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपालमा पहिलोपटक आयोजना भएको हो ।
