काठमाण्डौ – मुस्ताङमा आउँदो भदौ ३० र ३१ गते ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ आयोजना हुने भएको छ । जलवायु परिवर्तनको असरले हिमाली, पहाडी र तराई क्षेत्रमा पुऱ्याएको असर, अनुकूल र विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले घरपझोङ गाउँपालिकाले जलवायु परिवर्तन सम्मेलन आयोजना गर्ने तयारी गरेको हो ।
काठमाण्डौ, ललितपुर, पोखरा, भरतपुर, वीरगञ्ज र विराटनगर महानगरपालिकासहित ११ वटा उपमहानगरपालिका, २७६ नगरपालिका र ४५९ गाउँपालिकाका प्रमुख एवं अध्यक्षहरूको उपस्थिति रहनेगरी तयारी थालिएको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँपालिकाले यसअघि साउन २७ गते भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समन्वयमा देशभरका ७५३ वटै स्थानीय तहलाई जलवायु परिवर्तन सम्मेलनमा सहभागी हुन पत्राचार गरिसकेको छ । विश्वकै चिन्ता र चाँसोको विषय बनेको जलवायु परिवर्तनको असरसम्बन्धी सम्मेलन रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले निम्त्याएको विपद्को घटनापछि थप सापेक्षिक बन्दै गइरहेको अध्यक्ष लालचनले बताउनुभयो ।
सम्मेलनमा ७५३ वटै पालिकाका प्रतिनिधिको सहभागिता तथा जलवायु विज्ञहरूको उपस्थितिमा सम्मेलन आयोजना गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । पर्वतीय क्षेत्रमा रहेका हिमाल तथा पहाडमा हिमपात फुट्ने, ग्लेसियरका ढिस्का खसेर बाँध बनी फुट्ने र हिमाल पग्लिएर नदीको सतह उच्च भई प्राकृतिक विपद्का घटनाको जोखिम बढ्ने विद्यमान अवस्थामा विपद्जन्य क्षेत्रको वैज्ञानिक तरिकाले अध्ययन गरी प्राकृतिक जोखिम न्यूनीकरणका लागि जलवायु परिवर्तन सम्मेलन प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
जलवायु परिवर्तनका असरले कृषि, पशुपालन, पर्यटन, धर्मसंस्कृति, पर्यावरण र जैविक विविधतामा प्रतिकूल असर पुऱ्याउँदै गइरहेको अवस्थामा जलवायु सङ्कटले निम्त्याउन सक्ने खतरा र जलवायु सङ्कटबाट नेपालमा हुने गरेको क्षति, राहत र अनुकूलका उपायसम्बन्धी राष्ट्रिय तथा अन्तरराष्ट्रिय जगतको ध्यानाकर्षण गर्न सघाउ पुऱ्याउने अपेक्षा घरपझोङ गाउँपालिकाले राखेको छ ।
गाउँपालिका अध्यक्ष एवं जलवायु परिवर्तन सम्मेलन मूल आयोजक समितिका संयोजक लालचनले सम्मेलनको तयारी ७० प्रतिशत पूरा भइसकेको जानकारी दिनुभयो । मुस्ताङको जोमसोमको कभर्ड हलमा सम्मेलनस्थल तोकिएको छ ।
