काठमाण्डौ – भगवान् श्रीकृष्णको पूजाआराधना गरी आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदैछ । भदौ कृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वासअनुसार आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रि भनिन्छ ।
यस अवसरमा देशभरका कृष्णमन्दिरमा पूजाआजा, भजनकीर्तन तथा प्रवचन आयोजना गरिन्छ । भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले अन्याय र अत्याचारविरुद्ध सत्य तथा सत्कर्मको पक्षमा मानव समुदायलाई प्रेरित गर्नुभएको धार्मिक ग्रन्थमा उल्लेख छ । जन्माष्टमीका अवसरमा पाटनको मङ्गलबजारमा रहेको प्रसिद्ध कृष्णमन्दिरमा विशेष मेला लागेको छ ।
यसैबीच, सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा आज अठवाली अर्थात् अष्टमीका दिन मुख्य रूपमा मनाइँदैछ । भदौ शुक्ल पञ्चमीदेखि शुरु भएकाे गौरा पर्वको मुख्य दिन आज व्रत बसेर गौरा खलामा शिव र पार्वतीको पूजाआजा गर्ने चलन छ । दार्चुला, बैतडी, डडेल्धुरा लगायतका पहाडी जिल्लामा गौरा देवीको पूजाआजा गरी जात्रा निकालिन्छ भने कैलाली र कञ्चनपुरमा बसोबास गर्ने पहाडी समुदायले पनि विभिन्न ठाउँमा पर्व मनाउने गर्छन् ।
गौरा पर्वको मुख्य आकर्षण देउडा हो । देउडामा धार्मिक तथा पौराणिक गाथाका साथै सामाजिक विकृति र समसामयिक विषयमा व्यङ्ग्य गर्ने चलन छ । देउडामार्फत सुख–दुःख साटासाट गर्नुका साथै सामाजिक सद्भाव कायम गर्ने परम्परा छ ।
