चितवन, भदौ १९ ।
भोटेकोशीमा आएको भीषण बाढीमा परेर पूर्वी चितवनको राप्ती नगरपालिकाका ६ जना नागरिक हालसम्म बेपत्ता रहेका छन्। राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामाका अनुसार बेपत्ता हुनेहरूमा सवारी चालक सुमन खनाल (वडा नं. २), रसुवाको हाइड्रोपावरमा कार्यरत संगम चौलागाईं (वडा नं. ४), इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक निर्मल लामा तामाङ(वडा नं. ९) ,राप्ती ५ का ईश्वर खड्का घुम्न गएका राप्ति ९ का सन्देश परियार योगबहादुर खड्का र मनोज शाह (वडा नं. ८) रहेका छन्।
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेर फर्किएका नगर प्रमुख लामाले रसुवाको उत्तरगया गाउँपालिकास्थित नेपाली सेनाको ब्यारेकमा पुगेर बेपत्ताहरूको अवस्थाबारे जानकारी लिएका छन्। सेनाको ब्यारेकमा बेपत्ताहरूको नाम सार्वजनिक गरिएको र उद्धार कार्य जारी राखिएको उनले बताए।
निरीक्षणका क्रममा राहत वितरणमा ठूलो समस्या देखिएको नगर प्रमुख लामाको भनाइ छ। हाल राहत सामग्री सेनाको ब्यारेकमा मात्र थुप्रिएको र हेलिकप्टर पुग्न सक्ने सीमित ठाउँमा मात्र वितरण भएको छ। डाँडाकाँडाका विकट गाउँ बस्तीहरूमा अझैसम्म कुनै पनि राहत पुग्न नसकेको उनले जानकारी दिए।
त्यस्ता दुर्गम र वास्तविक पीडित बस्तीहरूमा तुरुन्तै राहत पुर्याउन राप्ती नगरपालिकाले १० लाख रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको छ। कार्यालय खुल्ने बित्तिकै कार्यपालिकाको बैठक बसेर सो रकम स्वीकृत गरी उति नै बराबरको खाद्यान्न तथा राहत सामग्री लिएर नगरपालिकाको टोली स्वयं प्रभावित क्षेत्र जाने तयारीमा छ।
राहत सामग्री सामग्री लिएर स्थानीय गाउँपालिका मार्फत बाढी प्रभावित क्षेत्रमा जाने तयारीमा जुटेको मेयर लामाले चित्रवन न्यूजडटकमलाई जानकारी दिए । वास्तविक पीडितले राहत नपाएको अवस्थालाई ध्यानमा राख्दै सिधै क्षेत्रमै पुगेर राहत बाँढ्ने अठोट गरिएको नगर प्रमुख लामाले स्पष्ट पारेका छन्।
बाढी आएको लामो समय बितिसक्दा पनि उनीहरूको अवस्था अज्ञात रहेकाले नेपाल सरकारका सम्बन्धित निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, उद्धार तथा राहत कार्यमा संलग्न संघ–संस्थाहरूलाई तत्काल परिचालन हुन उनले अपिल गरेका छन ।
यस विषम परिस्थितिमा मानवीय संवेदनशीलतालाई उच्च प्राथमिकतामा राखी प्रभावकारी रूपमा खोजी तथा उद्धार कार्यलाई अगाडि बढाउन र उनीहरूको अद्यावधिक स्थितिबारे यथाशीघ्र जानकारी उपलब्ध गराउन सम्बन्धित सबै सरोकारवालाहरूसँग हार्दिक अनुरोध गरिएको छ।
