अमेरिकी सेनाका सचिव ड्यान ड्रिस्कलले पदबाट राजीनामा दिनुभएकाे छ । झन्डै १८ महिना पदमा रहेपछि उहाँले राजीनामा बुझाउनुभएकाे हाे ।
सीबीएस न्युका अनुसार ड्रिस्कल र रक्षामन्त्री पिट हेगसेथबीच विगत केही महिनादेखि मतभेद र तिक्तता रहँदै आएको थियो ।
ड्रिस्कल अहिलेसम्मकै सबैभन्दा कान्छा ‘आर्मी सेक्रेटरी’ अर्थात् सेनासम्बन्धी मामिला हेर्ने सचिव हुनुहुन्छ । उहाँलाई प्रायः राष्ट्रपति डोनाल्ड ट्रम्पका ‘ड्रोन म्यान’ भनेर चिनिन्छ ।
सीबीएसलाई दिएको एक विज्ञप्तिमा अमेरिकी राष्ट्रपति कार्यालय ‘ह्वाइट हाउस’ ले ड्यान ड्रिस्कलले ट्रम्पको ‘मेक अमेरिका स्ट्रङ अगेन’ अर्थात् अमेरिकालाई पुनः शक्तिशाली बनाउने एजेन्डालाई अघि बढाउनमा अत्यन्त प्रभावकारी भूमिका खेलेको र सैन्य कारबाहीका क्रममा उत्कृष्ट नेतृत्व प्रदान गरेको बताएको छ ।
पछिल्ला समयमा पदबाट बाहिरिने धेरै वरिष्ठ सैन्य अधिकारीहरूमध्ये ड्रिस्कल पछिल्ला व्यक्ति हुनुहुन्छ । यसमा नौसेना सचिव जोन फेलन पनि समावेश हुनुहुन्छ, उहाँले गएको अप्रिलमा पदबाट अचानक राजीनामा दिनुभएको थियो ।
यसका साथै सेना प्रमुख र्यान्डी जर्ज, सेनाका जनरल डेभिड होड्न र मेजर जनरल विलियम ग्रीनले पनि भर्खरै पदबाट राजीनामा दिनुभएको छ ।
अमेरिकी रक्षा मन्त्रालय ‘पेन्टागन’ को जिम्मेवारी सम्हालेयता पिट हेगसेथले १० जनाभन्दा धेरै वरिष्ठ सैन्य अधिकारीलाई पदबाट हटाउनुभएको छ ।
यसमा अमेरिकी नौसेना सञ्चालन प्रमुख र अमेरिकी वायुसेनाका उप–स्टाफ प्रमुख समावेश छन् ।
