काठमाडौँ — सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले विगतका राजनीतिक परिवर्तनपछि ‘सिंहदरबार’को नाम परिवर्तन नगरिएकोमा असन्तुष्टि जनाएका छन् । रास्वपा सांसद तथा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति हरि ढकालले सिंहदरबारको नाम परिवर्तन नगरिएकोमा आपत्ति जनाएका हुन् ।
आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा रास्वपा सांसद ढकालले सिंहदरबारको नाम परिवर्तन नगरेकोमा असन्तुष्टि जनाएका हुन् । मुलुकको प्रमुख प्रशासनिक केन्द्र ‘सिंहदरबार’को नाम परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो ।
मुलुकको राजनीतिक परिवर्तन पछाडि विमानस्थलका नाम परिवर्तन भएको तर सिंहदरबारको नाम भने परिवर्तन नगरिएको उनको भनाइ थियो । ‘परिवर्तन पछाडि सबै ठाउँहरूको नाम परिवर्तन भयो, मतलब अब एयरपोर्टहरूका कहाँ-कहाँ नाम परिवर्तन भए,’ ढकालले भने, ‘त्यो सिंहदरबार भन्ने चाहीँ, न हामीसँग सिंह छ, हैन ? हामीसँग सिंह छैन । त्यो सिंहदरबार भन्ने चिजको नाम परिवर्तन भएन । त्यसलाई ‘अनामनगर दरबार’ राख्दिएको भए हुन्थ्यो होला ।’ ढकालले सिंह नभएको दरबारको नाम सिंहदरबार राखिराख्न नहुने तर्क गरेका हुन् ।
शासन शैलीको पुरानै अभ्यास कायमै रहेको पनि सांसद ढकालको भनाइ थियो । राजनीतिक परिवर्तनपछि प्रशासनिक केन्द्रको संरचना र भाषामा विद्यमान परम्परागत शैलीलाई चिर्नुपर्ने उनको भनाइ थियो ।
सांसद ढकालले नाम मात्र नभई सिंहदरबारको कार्यशैली र प्रवृत्तिमा समेत परिवर्तनको आवश्यकता रहेको बताए । प्रशासनिक केन्द्रको ‘मुहान’ मा सुधार हुनुपर्ने र पुरानो सोच तथा भाष्यलाई चिर्नुपर्ने उनको भनाइ थियो ।
