राप्ती। राप्ती नगरपालिका–१ मखरानीका अग्निपीडित अति विपन्न जयबहादुर चेपाङको घर निर्माण कार्य सुरु भएको छ। पूर्व उपमेयर इमानसिंह लामाको विशेष पहल तथा पास्टरद्वय दिनेश चेपाङ र उमेश चेपाङको संयोजनमा चेपाङको घर निर्माण गर्न लागिएको हो।
केही समयअघि भएको आगलागीबाट चेपाङको घर पूर्ण रूपमा क्षति भएपछि उनको परिवार अहिले त्रिपालमुनि रातदिन बिताउन बाध्य छ। विपन्न परिवारको अवस्थालाई मध्यनजर गर्दै घर निर्माणका लागि पहल गरिएको हो।
पूर्व उपमेयर लामाले सामाजिक सेवाका विभिन्न काम गर्दै आएका छन्। उनले असहाय तथा विपन्न बिरामीलाई अस्पतालसम्म पुर्याउनेदेखि दुःखमा परेका नागरिकलाई सहयोग गर्ने कार्यमा समेत सक्रियता देखाउँदै आएका छन्।
स्थानीयस्तरमा दुःखमा परेका नागरिकलाई सहयोग गर्दै आएका लामाको पहलमा अग्निपीडित चेपाङ परिवारले पुनः आफ्नै घरमा बस्न पाउने आशा पलाएको छ।
