राप्ती, चितवन । नेपाल कम्युनिस्ट पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत राप्ती नगरपालिकामा अभियान शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम रामकुमार पण्डितको अध्यक्षतामा तथा घनश्याम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा अशोक थापा, कञ्चन खनाल र संगीता भट्टराई सहभागी रहेका थिए।
त्यस्तै अतिथिका रूपमा शमशेर लामा, बाबुराम पाठक, ईश्वर सापकोटा, भावना सुवेदी, डा. कृष्णराम पन्त, मानबहादुर स्याङ्बो उपेन्द्र र हेमन्त कँडेललगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा पार्टीका अन्य नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको समेत सहभागिता रहेको थियो।
कार्यक्रममा आगामी दिनमा पार्टीलाई कसरी अगाडि बढाउने, संगठन विस्तारलाई प्रभावकारी बनाउने तथा नयाँ युवाहरूलाई पार्टीमा समावेश गराउने विषयमा छलफल भएको थियो। त्यसैगरी आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई मजबुत बनाउन कार्यकर्ताहरूले खेल्नुपर्ने भूमिका र संगठनलाई थप सशक्त बनाउने विषयमा समेत विचार व्यक्त गरिएको थियो।
कार्यक्रममा अध्यक्ष रामकुमार पण्डितले विगतका दिनहरूलाई समीक्षा गर्दै आगामी दिनमा विगतका गल्तीहरू नदोहोर्याउनुपर्नेमा जोड दिएका थिए। उनले पार्टीलाई बलियो बनाउन सबै नेता तथा कार्यकर्ता एकजुट भएर अघि बढ्नुपर्ने बताएका थिए।
त्यस्तै प्रमुख अतिथि घनश्याम दाहालले पार्टीभित्र रहेका कार्यकर्ताहरूलाई पार्टी जोगाउन र संगठनलाई मजबुत बनाउन आग्रह गर्दै आगामी दिनमा पार्टी अझ बलियो बन्ने विश्वास व्यक्त गरेका थिए। उनले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्न कार्यकर्ताहरूको महत्वपूर्ण भूमिका रहने बताएका थिए।
कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले पार्टीको संगठन विस्तार, आगामी राजनीतिक रणनीति तथा स्थानीय तहमा पार्टीको प्रभाव बढाउने विषयमा आ–आफ्ना धारणा राखेका थिए।
