रत्ननगर (चितवन)— चितवनको रत्ननगर नगरपालिका वडा नं. १ स्थित आनन्दनगर टोल विकास संस्थाको आठौँ वार्षिक सभा तथा पाँचौँ अधिवेशनबाट घनश्याम पौडेलको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरिएको छ। निर्वाचन सहजीकरण समितिका संयोजक छन्द प्रसाद खनालको सहजीकरणमा सम्पन्न साधारण सभाको अन्तिम सत्रले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिले टोलको सौन्दर्यीकरण, सरसफाइ, सुरक्षा तथा सामाजिक एकतालाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।
संस्थाकी अध्यक्ष सरस्वती आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा रत्ननगर वडा नं. १ का वडाध्यक्ष कुल प्रसाद सापकोटा प्रमुख अतिथि र वडा सदस्य एवं टोलका पूर्व अध्यक्ष गिरिराज लम्साल विशिष्ट अतिथि हुनुहुन्थ्यो। कार्यक्रममा प्रमुख अतिथि सापकोटाले टोल विकास संस्थाको योगदानको प्रशंसा गर्दै पूर्वाधार निर्माण, समृद्धि र सामुदायिक हितका निम्ति वडा कार्यालयको तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।
सभामा अध्यक्ष सरस्वती आचार्यले टोलको समग्र विकास, सञ्चालित योजना तथा साङ्गठनिक गतिविधिलाई समेटेर वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा समितिका संयोजक डिल्ली प्रसाद तिवारीले विगत ३८ महिनाको आय-व्यय समेटिएको विस्तृत आर्थिक प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो। रामकुमारी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन बासुदेव रिजालले गर्नुभएको थियो।
साधारण सभाको अवसरमा समाजमा विशेष योगदान पुर्याउने ज्येष्ठ नागरिक, पूर्वअध्यक्षहरू, उत्कृष्ट स्वयंसेवक तथा स्थानीय घरबेटीहरूलाई सम्मान पत्र र कदर-पत्रद्वारा सम्मानित गरिएको थियो।
