काठमाण्डौ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज टर्कीए प्रस्थान गर्नुहुने भएको छ ।
टर्कीएको आन्ताल्यामा पर्सिदेखि मङ्सिर ४ गतेसम्म आयोजना हुने सम्मेलनको उद्घाटन सत्रलाई परराष्ट्रमन्त्री खनालले पर्सि सोमबार सम्बोधन गर्नुहुने कार्यक्रम छ ।
त्यसैगरी उहाँले कात्तिक २५ र २६ गते आयोजना हुने नेताहरूको शिखर सम्मेलनमा समेत सहभागिता जनाउनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाली प्रतिनिधिमण्डलमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी, मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रसहित नौ जना सहभागी हुनुहुनेछ ।
परराष्ट्रमन्त्री खनाल कात्तिक २८ गते स्वदेश फर्कने कार्यक्रम छ । नेपालले यो सम्मेलनमा जलवायु न्याय, पर्वतीय क्षेत्रको संरक्षण तथा जलवायुजन्य विपद्का विषयलाई उठाउने तयारी गरेको छ ।
सम्मेलनमा नेपालले भोटेकोशीलगायत विभिन्न क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न बाढी, पहिरो तथा अन्य विपद्बाट नागरिकले भोग्नुपरेको पीडालाई अन्तरराष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने तयारी गरेको हो ।
