भारतको लोकसभाका विपक्षी नेता राहुल गान्धीले मंगलबार प्रहरी हिरासतमा रहेकै बेला भिडिओ सन्देश जारी गर्दै सरकारसमक्ष ५ बुँदे माग अघि सारेका छन्।
प्रधानमन्त्री निवास बाहिर धर्ना दिँदा पक्राउन परेका गान्धीले हिरासतमा राखिएको छत्रसाल स्टेडियमबाट भिडिओ सन्देश जारी गरेको बिबिसीले जनाएको छ।
भारतको शिक्षा व्यवस्थामा देखिएको समस्या र विद्यार्थीमाथि भएको प्रहरी दमनबारे सरकारले जबाफ दिनुपर्ने उनको अडान छ।
यो विषयमा संसदमा बहसका लागि सभामुख ओम बिडलालाई अनुरोध गर्दा सरकारको अनुमति चाहिने जबाफ पाएपछि देशको ध्यानाकर्षण गराउन प्रधानमन्त्री निवास बाहिर धर्ना दिनुपरेको गान्धीले स्पष्ट पारेका छन्।
राहुल गान्धीका ५ बुँदे मागहरू —
१. गृहमन्त्री अमित शाह र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा।
२. शान्तिपूर्ण प्रदर्शनमा रहेका विद्यार्थीमाथि कुटपिट र अपमान गर्नेमाथि कारबाही।
३. आन्दोलन क्रममा विद्यार्थीहरूमाथि लगाइएका सबै मुद्दा खारेज।
४. संसदमा प्रश्नपत्र लीक र शिक्षा क्षेत्रका समस्याबारे तत्काल बहस।
५. विद्यार्थीहरूमाथि गरिएको दमनका लागि प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्रीले देशवासीसँग माफी माग्नुपर्ने।
दिल्ली प्रहरीले विपक्षी दल नेता राहुल गान्धीसहित प्रियंका गान्धी, अखिलेश यादव लगायत नेताहरूलाई नियन्त्रणमा लिएको थियो। उनीहरूलाई केही बेर हिरासतमा राखेर छाडिएको बिबिसीले जनाएको छ।
नीट (राष्ट्रिय योग्यता परीक्षा) प्रश्नपत्र लीक प्रकरण र आन्दोलनकारी विद्यार्थीमाथि भएको प्रहरी दमनको विरोध गर्दै उनीहरू धर्नामा बसेका थिए।
यसबीच विपक्षी नेताको कदमप्रति कडा आपत्ति जनाउँदै केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राहुल गान्धी र कांग्रेस पार्टीले विद्यार्थीहरूलाई राजनीतिक हतियार बनाएर संसदको मनसुन अधिवेशन अवरूद्ध गर्न खोजेको आरोप लगाएका छन्।
मंगलबार राति सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै मन्त्री प्रधानले भने, ‘सरकार संसदमा सबै विषयमा छलफल गर्न तयार भइसकेको अवस्थामा पनि कांग्रेसले लोकतान्त्रिक बहस छाडेर सडक प्रदर्शन रोज्यो। प्रधानमन्त्री निवास घेराउ गरेर आमनागरिकलाई सास्ती दिने र सुरक्षा प्रोटोकल तोड्ने काम मात्र भएको छ। उहाँहरूको उद्देश्य समस्या समाधान भन्दा पनि राजनीतिक चर्चा बटुल्नु मात्र हो।’
उता दिल्लीको जन्तर-मन्तरमा आन्दोलनरत विद्यार्थीहरूलाई समर्थन गर्न शिवसेना (युबिटी) का नेता उद्धव ठाकरे र तृणमूल कांग्रेसकी सांसद महुवा मोइत्रा पुगेका छन्।
कक्रोच जनता पार्टी (सिजेपी) ले आन्दोलन स्थल पुगेका विपक्षी नेताहरूलाई धन्यवाद ज्ञापन गरेको छ।
आन्दोलनकारी विद्यार्थीहरूसँगको भिडिओ पोस्ट गर्दै मोइत्राले सरकारले आफ्ना माग राख्न नडराउने युवाहरूलाई सम्हाल्न नसकेको टिप्पणी गरिन्।
भारतमा बुधबारबाट विपक्षी शीर्ष नेताहरूको गिरफ्तारी र विद्यार्थीमाथि भएको प्रहरी दमनको विरोधमा देशव्यापी प्रदर्शन सुरू भएको छ। केरल र असममा कांग्रेस कार्यकर्ताहरूले प्रदर्शन गरेका छन् भने उत्तर प्रदेशको अलिगढमा समाजवादी पार्टीका कार्यकर्ताहरूले अखिलेश यादवको गिरफ्तारीको विरोधमा प्रदर्शन गरेका छन्।
संसद भवन र मध्य दिल्ली क्षेत्रमा थप प्रदर्शन हुनसक्ने आशंकाबीच प्रहरीले सुरक्षा व्यवस्था अत्यन्त कडा बनाउँदै ठूलो संख्यामा ब्यारिकेड राखेको छ।
