वीरगञ्ज । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आशङ्का गरिएका श्रीमान् पनि मृत फेला परेका छन् । घटनामा उनीहरूका चार वर्षीय छोरा घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादवले कात्तिक ७ गते राति मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वरस्थित ससुरालीमा श्रीमती ३० वर्षीय रिना यादव र चार वर्षीय छोरा सम्राट् यादवमाथि धारिलो हतियार प्रहार गरेका थिए ।
प्रहरीका अनुसार उमेश राति करिब ९ बजे ससुराली पुगेका थिए । त्यसपछि राति करिब १:५० बजे श्रीमती र छोरामाथि धारिलो हतियार प्रहार गरी उनी फरार भएका थिए ।
घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय धनुषाधामबाट प्रहरी निरीक्षक राजेश कुमार शर्माको कमान्डमा खटिएको टोली घटनास्थल पुगेको थियो । त्यहाँ रिनाको घाँटीमा धारिलो हतियारले काटिएको चोट देखिएको र उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घटनामा घाइते भएका छोरा सम्राट्को दाहिने तिघ्रामा धारिलो हतियारको चोट लागेको छ । उनलाई स्थानीय क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट प्रहरीले रगत लागेको चक्कुसमेत बरामद गरेको छ । श्रीमती र छोरामाथि आक्रमणपछि फरार रहेका उमेशको खोजतलास गर्ने क्रममा घटनास्थलबाट करिब एक किलोमिटर पश्चिम मिथिला बिहारी नगरपालिका–२ स्थित सिर्सिया जाने बाटोको दक्षिणपट्टि रहेको आँपको रुखमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
मृतक रिनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । घटनाको कारण र परिस्थितिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
घटनाबारे अनुसन्धान जारी रहेकाले हत्याको कारण र त्यसअघिको पारिवारिक परिस्थितिबारे विस्तृत विवरण खुल्न बाँकी छ ।
