जापानको राजधानी टोकियोको व्यस्त रेल स्टेसनमा दुईवटा बाख्रालाई झारपात सफा गर्ने काममा लगाइएको छ।
टोकियोको योत्सुया रेल स्टेसन परिसरमा अक्टोबर ९ देखि नागी र पोक्के नामका दुई बाख्रालाई काममा लगाइएको हो। यात्रुहरूको आवतजावत भइरहने स्टेसनमा बाख्राले घाँस खाएर झारपात नियन्त्रण गर्नेछन्।
जापानी सञ्चारमाध्यम एफएनएनका अनुसार एक वर्षको भाले नागी र दुई वर्षकी पोथी पोक्केलाई डिसेम्बरसम्म वा घाँस नसकिएसम्म स्टेसन परिसरमा राख्ने योजना छ।
सामान्यतया स्टेसन परिसरको झारपात सफा गर्ने काम मानिस वा मेसिले गर्छन्। यहाँ भने बाख्रालाई काममा लगाइएकाले अहिले यसको चर्चा भइरहेको छ।
यसले झारपात नियन्त्रणको वैकल्पिक उपायका रूपमा पनि ध्यान खिचेको छ।
