रसुवा : चितवनका युवा समाजसेवी तथा पर्यटन व्यवसायी शेरबहादुर परियारले बाढी र भूकम्पबाट प्रभावित तथा अभिभावक गुमाएका विद्यार्थीको सहयोगका लागि खाद्यान्न उपलब्ध गराउनुका साथै अधुरो छात्रावास भवन निर्माण सम्पन्न गर्ने जिम्मेवारी लिएका छन् ।
रसुवा र नुवाकोटको सिमानामा पर्ने उत्तरगया गाउँपालिका–५ वेत्रावतीस्थित नीलकण्ठ माध्यमिक विद्यालयमा आश्रित १५७ विद्यार्थीका लागि परियार र जर्मन नागरिक हार्टमुट ड्राम्सटसको संयुक्त पहलमा दुई महिनालाई पुग्ने खाद्यान्न सहयोग गरिएको हो । स्थानीय सरकारसँग समन्वय गरी उपलब्ध गराइएको उक्त सहयोग विशेषगरी २०७२ सालको भूकम्प र गत भदौ १० गतेको बाढीबाट प्रभावित, अभिभावक गुमाएका तथा विपन्न परिवारका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको आवासीय सुविधाका लागि हो ।
खाद्यान्न सहयोग हस्तान्तरण कार्यक्रममा समाजसेवी शेरबहादुर परियारसँगै उनका भाइ शिरलाल परियार, व्यवसायी शान्तामणि न
हर्की तथा स्थानीय विप्लव खड्का र ऋतृ ग्याम्दानको उपस्थिति थियो । कार्यक्रममा उत्तरगया गाउँपालिका–५ का वडाध्यक्ष यमनाथ आचार्य र विद्यालयका प्रधानाध्यापक माधव लामिछानेलाई खाद्यान्न हस्तान्तरण गरिएको थियो ।
खाद्यान्न सहयोगसँगै अधुरो छात्रावास निर्माणको जिम्मेवारी

खाद्यान्न हस्तान्तरणपछि परियारसहितको टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा उनले विद्यार्थीको आवासीय सुविधा थप व्यवस्थित बनाउन अधुरो अवस्थामा रहेको साढे दुईतले छात्रावास भवन निर्माण सम्पन्न गर्ने जिम्मेवारीसमेत लिएको घोषणा गरे ।
बाढीबाट प्रभावित, अभिभावक गुमाएका तथा विपन्न परिवारका बालबालिकालाई सुरक्षित आवाससहित अध्ययनको वातावरण उपलब्ध गराउने उद्देश्यले छात्रावास निर्माण गरिएको भए पनि आवश्यक पूर्वाधार र खाद्यान्न व्यवस्थापनमा समस्या रहँदै आएको थियो ।
विद्यालयका प्रधानाध्यापक माधव लामिछानेले विद्यार्थीको आवासीय व्यवस्थापन र नियमित सञ्चालनमा कठिनाइ भइरहेको अवस्थामा खाद्यान्न सहयोगसँगै अधुरो भवनसमेत निर्माण सम्पन्न गरिदिने प्रतिबद्धता आउनु खुसीको विषय भएको बताए ।
विद्यार्थीका लागि खाद्यान्नको व्यवस्था र छात्रावास निर्माण सम्पन्न गर्ने पहलले विपन्न तथा संकटबाट प्रभावित बालबालिकाको शिक्षा निरन्तरता र आवासीय व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
