चितवन — चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको अध्यक्षमा किशोर बगाले पुनः सर्वसम्मत चयन भएका छन्। संघको नयाँ नेतृत्व चयनका क्रममा बगाले दोस्रो कार्यकालका लागि अध्यक्षमा दोहोरिएका हुन्।
नयाँ कार्यसमितिको उपाध्यक्षमा रामेश्वरसिंह ओली, सचिवमा कल्याण अधिकारी र कोषाध्यक्षमा शिवप्रसाद पौडेल सर्वसम्मत निर्वाचित भएका छन्। निर्वाचन समितिका संयोजक वामदेव अधिकारीका अनुसार कार्यसमिति सदस्यमा युवराज थापा, श्यामचन्द्र रैला, कल्पना आचार्य, कोपिला दाहाल र किशोर पौडेल चयन भएका छन्।
यसैगरी, लेखा सुपरिवेक्षण समितिको संयोजकमा कृष्णप्रसाद भण्डारी चयन भएका छन्। समितिको सदस्यमा बलराम अधिकारी र तेजकुमारी काफ्ले रहेका छन्।
पुनः अध्यक्षमा निर्वाचित बगालेले चितवनको दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले दुग्ध उत्पादक किसानको हित संरक्षण गर्दै समग्र दुग्ध क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।
संघले सन् २०८७ सम्मका लागि दीर्घकालीन योजना तयार गरिसकेको जानकारी दिँदै बगालेले दुग्ध क्षेत्रको विकास र विस्तारका लागि थप रणनीतिक कार्यक्रम अघि बढाइने बताए। दूधको विविधीकरणसँगै दुग्ध उद्योग, दाना उद्योग र मार्टसमेत सञ्चालन गर्दै आएको संघका यी गतिविधिलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने उनको भनाइ छ।
चितवनमा दुग्ध उत्पादन, प्रशोधन तथा बजारीकरणका सम्भावनालाई थप उपयोग गर्दै किसानलाई लाभ पुग्ने कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए। दुग्ध उत्पादक किसानको आर्थिक अवस्था सुधार गर्नुका साथै चितवनको दुग्ध क्षेत्रलाई देशभरका लागि अनुकरणीय बनाउन आफूले पहल गर्ने बगालेले प्रतिबद्धता जनाएका छन्।
