लहानका मोबाइल र कैलालीको टेम्पो : शक्ति प्रदर्शन कि कानून कार्यान्वयन ?
सिरहामा परीक्षाका बेला विद्यार्थीबाट जफत गरिएका ५ सयभन्दा बढी मोबाइल र स्मार्ट वाच पानीमा डुबाएर नष्ट गरिएको घटना सेलाउन नपाउँदै कैलालीको अर्को घटनाले यतिबेला सामाजिक सञ्जाल तातिएको छ । कैलाली गोदावरीको जङ्गल क्षेत्रमा नियम विपरीत खानेकुरा बेच्दै आएको भन्दै वन कार्यालयका कर्मचारीहरूले टेम्पोलाई सडकबाट धकेलेर जङ्गलमा फालिदिए । यी दुई घटनापछि धेरैको एउटै प्रश्न छ– कानून कार्यान्वयन गर्ने नाममा राज्यका निकायहरू कति अमानवीय र असहिष्णु बन्न सक्छन् ?
सबैलाई थाहा भएकै कुरा हो, परीक्षामा मोबाइल फोन प्रयोग गर्न पाइँदैन । वन क्षेत्रमा जथाभावी व्यापार गर्न मिल्दैन । नियम आवश्यक छन् । कानूनको पालना हुनुपर्छ । यसमा कसैको दुई मत छैन ।
तर कानूनको उद्देश्य सुधार हो कि शक्ति प्रदर्शन ? कसैले गल्ती गर्यो भने कारबाही गर्नुपर्छ । जरिवाना तिराउनुपर्छ । आवश्यक परे सामान जफत गर्नुपर्छ । तर जफत गरिएको सामान नष्ट गर्नु वा कसैको जीविकाको साधनलाई क्षति पुर्याउनु उचित उपाय हो त ?
मोबाइल आज केवल फोन मात्रै होइन । यो पढाइ, बैंकिङ, व्यापार र सम्पर्कको माध्यम हो । एउटा मोबाइल किन्न विद्यार्थीका बाबुआमाले ठूलो मेहनत गरेका हुन्छन् । त्यस्ता सामान क्षणभरमै नष्ट गरिँदा आर्थिक क्षति कसको हुन्छ ? यदि ती मोबाइल प्रयोग गर्न नपाइने थिए भने कानूनी प्रक्रिया अपनाएर व्यवस्थापन गर्न सकिन्थ्यो । नष्ट गर्नु नै अन्तिम विकल्प किन बन्यो ?
टेम्पोको कुरा पनि त्यही हो । एउटा टेम्पो धेरैका लागि परिवार पाल्ने आधार हो । त्यसमा ऋण, पसिना र वर्षौंको संघर्ष जोडिएको हुन्छ । नियम उल्लंघन भएको भए कानूनी कारबाही गर्न सकिन्थ्यो । तर गाडी नै फालिदिनु आवश्यक थियो र !
यी घटनाले अर्को प्रश्न पनि जन्माएको छ । राज्यले कानून लागू गरिरहेको छ कि आफ्नो शक्ति देखाइरहेको छ ? लोकतन्त्रमा राज्य शक्तिशाली हुन्छ । र विवेक बिना शक्ति अन्धो हुन्छ । के सरकार अन्ध शक्तिको प्रयोग गर्न तम्सेको हो त ?
अपमानित गरेर र डर देखाएर नागरिकलाई नियम मान्न बाध्य पार्न सकिएला, तर विश्वास जित्न सकिँदैन । नागरिकको विश्वास जित्न त कानून लगाउनेले पनि कानूनको सम्मान गर्न जान्नुपर्छ ।
देश यतिबेला रोजगारी र आर्थिक सङ्कटसँग जुधिरहेको छ । नागरिक अभाव र महंगीको मारमा छन् । यस्तो बेला नागरिकको सम्पत्ति र जीविकाको साधन नष्ट गर्दा विश्वास होइन, असन्तोष बढाउँछ ।
सिरहाको मोबाइल र कैलालीको टेम्पोले एउटा गम्भीर पाठ सिकाएका छन् । कानून लागू गर्नुपर्छ, तर विवेकसाथ । नियम पालन गराउनुपर्छ, तर मानवीयता बिर्सेर होइन । राज्यको काम सम्पत्ति नष्ट गर्नु होइन, सम्पत्ति जोगाउँदै कानूनी व्यवस्था कायम गर्नु हो । नागरिकलाई दुःख दिनु होइन, जिम्मेवार बनाएर भरोसा जगाउनु हो ।
दुवै घटनाका पीडितलाई क्षतिपूर्ति र नियम कार्यान्वयनको नाममा नसुहाउँदो हर्कत गर्नेलाई कारबाही हुनुपर्छ भन्ने नागरिकको मागलाई बेवास्ता गर्न मिल्दैन । यस्ता घटना दोहोरिनु हुँदैन ।
