काठमाण्डौ — काठमाण्डौ उपत्यकामा बढ्दो ट्राफिक जाम र अव्यवस्थित यातायात व्यवस्थापनलाई सुधार गर्न सरकारले २५ वर्षे नयाँ काठमाण्डौ उपत्यका शहरी यातायात गुरुयोजना तयार गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को प्राविधिक सहयोगमा योजना तयार पारेको यो मस्यौदा मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि कार्यान्वयनमा लैजाने तयारी गरिएको छ ।
गुरुयोजनाले अबको २४ वर्षपछि अर्थात सन् २०५० सम्म काठमाण्डौ उपत्यकाको जनसंख्या झण्डै ४३ लाख पुग्ने अनुमान गर्दै भविष्यको यातायात चापलाई ध्यानमा राखेर दीर्घकालीन योजना अघि सारेको हो । यसमा २२ वटा पूर्वाधार आयोजना र १३ वटा यातायात सुधार कार्यक्रम समावेश गएिको छ ।
योजनाको सबैभन्दा महत्वाकांक्षी प्रस्ताव रत्नपार्कदेखि भक्तपुरसम्म करिब १४.६ किलोमिटर लामो मेट्रो रेल निर्माण हो । मेट्रोको केही भाग भूमिगत र बाँकी भाग आकाशे संरचनामा निर्माण गर्ने प्रस्ताव गरिएको छ ।
यस्तै गौशाला–चाबहिल खण्डमा भूमिगत सुरुङमार्ग बनाउने अर्को महत्वाकांक्षी योजना पनि अघि सारिएको छ । गुरुयोजना अनुसार यस खण्डमा भूमिगत सुरुङमार्गको लम्बाइ १ हजार ५६३ मिटर हुनेछ । यो हालको चारलेनको सडक मुनि दुई तहको बनाइनेछ। जसमा माथिल्लो तहको सुरुङबाट उत्तरतर्फ (चाबहिल) आउने र तल्लोतहबाट दक्षिण (गौशलातर्फ) जाने गाडी गुड्नेछन् । यही खण्डमा भूमिगत सुरुङमार्गको कुल चौडाइ १५.५ मिटर हुनेछ । जसमा गाडी गुड्न तल र माथि दुई वटा फराकिला बाटो बनाइने छ ।
यस्तै महाराजगञ्जमा अन्डरपास, धोबीखोला र विष्णुमती करिडोरको स्तरोन्नति, नयाँ पुल निर्माण तथा २३ वटा प्रमुख चोकमा ट्राफिक व्यवस्थापन सुधार गर्ने योजना पनि समेटिएको छ ।
गुरुयोजनाले साइकल यात्रालाई प्रोत्साहन गर्न साइकल लेन विस्तार गर्ने र विपद्का बेला सहज आवतजावतका लागि करिब १६० किलोमिटर लामो आपत्कालीन सडक सञ्जाल विकास गर्ने प्रस्ताव गरेको छ ।
सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन अहिले सञ्चालनमा रहेका धेरै साना यातायात समितिहरूलाई गाभेर ५ वा ६ वटा ठूला कम्पनी गठन गर्ने सुझाव दिइएको छ । साथै ठमेल, काठमाण्डौ दरबार क्षेत्र र ललितपुर दरबार क्षेत्रलाई क्रमशः कार निषेध (कार–फ्री) क्षेत्र बनाउने अवधारणा पनि अघि सारिएको छ । यस योजनामा बिजुली, टेलिफोन र इन्टरनेटका तारलाई भूमिगत व्यवस्थापन गर्न ‘युटिलिटी करिडोर’ निर्माण गर्ने प्रस्ताव पनि समावेश गरिएको छ ।
यो नेपालमा जाइकाको प्राविधिक सहयोगमा तयार गरिएको चौथो काठमाण्डौ यातायात गुरुयोजना हो । यसअघि सन् १९९३ (वि.सं. २०५०) मा तयार गरिएको पहिलो गुरुयोजनाले चक्रपथ निर्माणको अवधारणा अघि सारेको थियो । त्यसपछि सन् २०१२ र सन् २०१७ मा पनि नयाँ अध्ययन गरिए पनि धेरै योजना कार्यान्वयन भएनन् । यसपटक फेरि काठमाण्डौ उपत्यकाको यातायात व्यवस्थालाई दीर्घकालीन रूपमा आधुनिक र व्यवस्थित बनाउने लक्ष्यसहित गुरुयोजना तयार पारिएको छ ।
पहिलेका गुरुयोजनाको अनुभवले अहिलेको महत्वाकांक्षी योजना पनि कार्यान्वयन हुन्छ भन्ने धेरैलाई विश्वास छैन । तर पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी ज्ञानराज लम्साल भने यो योजना वर्तमान समयको आवश्यकता र सहभागितामुलक योजनाको मस्यौदा भएकाले पनि कार्यान्वयनमा आउने दाबी गर्नुहुन्छ ।
