काठमाण्डौ – आजदेखि आउँदो शनिबार फूलपातीसम्म उपभोक्ताले जुनसुकै कम्पनीका ग्यास सिलिन्डर काठमाण्डौ उपत्यकाका विभिन्न ६ ठाउँबाट साट्न पाउने भएका छन् ।
नेपाल एलपी ग्यास उद्योग सङ्घले दशैँमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सुनिश्चित गर्न जुनसुकै कम्पनीको पनि ग्यास सिलिन्डर तोकिएका केन्द्रबाट साट्न सक्ने गरी व्यवस्था गरिएको जनाएको छ ।
सङ्घका अनुसार बालाजुको नेपाल ग्यासको उद्योग, पेप्सिकोलाको सगर ग्यासको गोदाम, सुकेधाराको बाबा ग्यासको डिपो, सिफलको एभरेस्ट तथा सुगम ग्यासको केन्द्र, कलङ्कीको साईबाबा र श्रीकृष्ण ग्यासको गोदाम तथा ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यासको गोदामबाट उपभोक्ताले जुनसुकै सिलिन्डर साट्न पाउने भएका हुन् ।
उपभोक्ताको जुनसुकै सिलिन्डर भए पनि बालाजुबाट नेपालसहित एचपी, गीता, राजधानी र त्रिवेणी, पेप्सीकोलाबाट सगर, सुकेधाराबाट बाबा र श्री ग्यास, सिफलबाट एभरेस्ट र सुगम, कलङ्कीबाट साईबाबा र श्रीकृष्ण तथा हरिसिद्धिबाट श्रीराम ग्यास पाउनेछन् ।
तोकिएका यी ठाउँबाट फरक कम्पनीको सिलिन्डर साट्दा पनि उपभोक्ताले कुनै अतिरिक्त शुल्क तिर्नु नपर्ने सङ्घले जनाएको छ । नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासङ्घको सहकार्यमा बिहान साढे ९ बजेदेखि बेलुका ४ बजेसम्म साटेर ग्यास लिन सकिने भएको छ ।
बजारमा अहिले ५८ वटा ग्यास उद्योगका सिलिन्डर छन् । उपभोक्ताले ग्यास साट्दा आफ्नो पहिचान खुल्ने विवरण तथा मोबाइल नम्बर अभिलेखका रूपमा राख्नुपर्ने पनि सङ्घले जनाएको छ ।
