काठमाडौँ : बूढीगण्डकी नदीमा आएको बाढीको जोखिम बढेपछि गोरखाको आरुघाट आधारभूत अस्पतालमा भर्ना भएका बिरामीलाई एम्बुलेन्समार्फत सुरक्षित स्थानमा सारिएको छ।
गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयका अनुसार हाल आरूघाट आधारभूत अस्पतालमा उपचाररत बिरामीहरूलाई एम्बुलेन्स मार्फत सुरक्षित स्थानमा सारिएको छ भने अस्पतालका कर्मचारीहरूलाई पनि सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ। स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय युवा क्लब र स्वास्थ्यकर्मीहरू उद्धार तथा स्थानान्तरणमा निरन्तर खटिएका छन्। हालसम्म कुनै मानवीय क्षति नभएको स्वास्थ्य शाखाले जनाएको छ।
नदी करिडोरमा उच्च सतर्कता अपनाउन आग्रहबाढीको दोस्रो लहर तलतिर सरिरहेकाले गण्डकी प्रदेश सरकार र स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अपिल गरिएको समेत जनाइएको छ।
विशेष गरी चुमनुब्री (लोका र छुलिङबीचको क्षेत्र), जगत, सल्लेरी, माछाखोला, दोभान, तातोपानी, खोलार्बेंसी तथा आरूघाटदेखि त्रिशूली दोभानसम्मको नदी करिडोरका बासिन्दा, पर्यटक, पदयात्री र होटेल व्यवसायीहरूलाई नदी किनार तथा जोखिमयुक्त बाटोमा नजान आग्रह गरिएको छ।
गोरखा, लमजुङ र तनहुँका जिल्लास्तरीय द्रुत प्रतिकार्य टोली (आरआरटी) र आपत्कालीन चिकित्सकीय टोली (इएमटी) लाई जुनसुकै परिस्थिति सामना गर्न तयारी अवस्थामा राखिएको गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तै सम्भावित जोखिमलाई मध्यनजर गर्दै गोरखा, लमजुङ र तनहुँ जिल्लाका जिल्ला स्तरीय द्रुत प्रतिकार्य टोली (आरआरटी)) र प्रदेश अस्पताल, गोरखा, तनहुँ र लमजुङका आपतकालीन चिकित्सकीय टोली (इएमटी) तयारी अवस्थामा रहनका साथै गोरखा जिल्लाका सम्बन्धित स्थानीय तहका आरआरटीलाई तयारी अवस्थामा रहन प्रदेश स्वास्थ्य जनस्वास्थ्य कार्यालय, गोरखाबाट आवश्यक समन्वय, सहकार्य गर्न, जोखिम अवस्थालाई मध्यनजर गर्दै उल्लिखित तीन वटै जिल्लाका जनस्वास्थ्य कार्यालयहरूले निरन्तर अद्यावधिक सूचना प्रवाह गर्नुहुन, प्रदेश स्तरबाट हुनसक्ने सहयोग तथा अत्यावश्यक स्वास्थ्य सामग्री, आपूर्ति व्यवस्थापनका लागि समेत जानकारी गराउन गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयबाट अनुरोध गरेको छ।
बूढीगण्डकीको बाढीको पहिलो लहर र सो पश्चात्को दोस्रो लहरले फिलिम, सल्लेरी, जगत र माछाखोलाका स्वास्थ्य संस्थाहरू माथिल्लो उचाइमा रहेकाले कम जोखिममा रहेको सम्बन्धित स्वास्थ्य शाखाबाट जानकारी भएको समेत प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ।
