"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

‘मेसी र रोनाल्डोभन्दा उत्कृष्ट प्रतिभा देशमै होलान् तर राज्यले चिन्न र खोज्न सकेन’

Table of Content

‘मेसी र रोनाल्डोभन्दा उत्कृष्ट प्रतिभा देशमै होलान् तर राज्यले चिन्न र खोज्न सकेन’

तिबेला विश्वका अरू देशमा जस्तै नेपाली सडक, चोक, गल्ली र चिया पसलहरू पनि फुटबलमय बनेका छन् । लामो समयको प्रतिक्षापछि अन्ततः फिफा विश्वकप फुटबल २०२६ को रोमाञ्चक उत्साहले नेपाली खेलप्रेमीहरूलाई पनि कसिलो गरी बाँधेको छ । हजारौँ दर्शकहरू निद्रा त्यागेर भए पनि रातभरिका खेलहरू हेर्ने योजना बनाउँदै छन् । कसैलाई इङ्ग्ल्यान्डको ‘इट्स कमिङ होम’ भन्ने नारा साकार हुनु छ, कसैलाई स्पेनका युवा स्टार लामिन यमालको जादु हेर्नुछ, त कसैलाई मेक्सिकोको अनुशासित फुटबल संस्कृति वा पोर्चुगलका ‘बडे भैया’ क्रिस्टियानो रोनाल्डोको ‘लास्ट डान्स’ को साक्षी बन्नुछ ।

देशैभरिजस्तै काठमाण्डौका ठाउँ–ठाउँका गल्ली–गल्लीहरूका होटल र रेस्टुरेन्टहरूमा ठूला–ठूला प्रोजेक्टर र टिभी रुमहरू तयार भइसकेका छन् । तर विश्वकपको यो महाकुम्भ र उत्साहले नेपाललाई छोइरहँदा, नेपाली फुटबलको एउटा कुरुप र निराश लाग्दो यथार्थ भने गुम्सिइरहेको छ । एकातिर विश्वकपको चमकधमक छ भने अर्कोतिर आफ्नै देशको फुटबल भने चरम सङ्कट, राजनीतिक दाउपेच र अन्योलको अँध्यारो सुरुङभित्र फसेको छ ।

हाम्रो समाजमा एउटा बलियो मानसिकता छ – देशमा राजनीति र सङ्कट जे–जस्तो भए पनि खेलकुदले सबै नेपालीलाई भावनात्मक रूपमा एकताबद्ध बनाउँछ । तर विडम्बना के छ भने विगतमा दक्षिणपूर्वी एशियाका अन्य देशहरूसँग कडा टक्कर दिने नेपाली फुटबलको त्यो पुरानो क्रेज र शान अहिले भत्किँदै गइरहेको छ ।

ललितपुरकाे दक्षिणकालीका स्थानीय नितेश अर्यालका अनुसार साफ कपजस्ता प्रतियोगिताहरूमा पाकिस्तान र श्रीलङ्कालाई सहजै हराउने नेपाल सधैँ भारतसँग पुगेपछि फाइनल वा महत्त्वपूर्ण खेलमा चुक्ने गर्छ । नितेश थप्नुहुन्छ, ‘फुटबल टिमको हिसाबले भारत आफैँ पनि विश्वकप नपुगेको र धेरै थोरै नेपालजस्तै अवस्थामा भए पनि नेपाल सधैँ आत्मविश्वासको कमी र ‘भारत ठूलो छिमेकी हो’ भन्ने मनोवैज्ञानिक त्रासका कारण आत्तिएर मैदानमा कमजोर देखिन्छ ।’ यो सानैदेखिको मानसिकता र संस्थागत कमजोरीले गर्दा नेपाली फुटबल जति उचाइमा पुग्नुपर्ने थियो, त्यहाँ पुग्नै सकेको छैन ।

ललितपुरकाे पुल्चोक इन्जिनियरिङ क्याप्पसमा पढ्ने चितवन भरतपुरकी सचिता अर्यालको बुझाइमा नेपाली फुटबलले पाउनुपर्ने जति चर्चा र हाइप कहिल्यै पाएकै छैन । चार वर्षमा एक पटक आउने विश्वकप त एउटा छुट्टै उत्सव हो नै तर नेपालभित्रै आफ्नै देशको फुटबलको भने कलेज र युवा वृत्तमा खासै बिगबिगी छैन । सचिताका अनुसार ‘कलेजहरूमा युवाहरू जम्मा हुँदा प्रायः क्रिकेटकै चर्चा धेरै हुन्छ, फुटबलको विषयमा कसैले खासै कुरा नै गर्दैनन् ।’ कतिसम्म भने, सचिता आफैँ अर्जेन्टिना र मेसीको खेल हेर्न पुल्चोक इन्जिनियरिङ क्याप्पसको होस्टेलको हलमा साथीहरूसँग बसेर टिभीमा हुटिङ गर्ने योजना बनाउँदै हुनुहुन्छ तर उहाँलाई नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका खेलाडीहरूको नाम समेत थाहा छैन । उहाँले महिला टोलीकी स्टार खेलाडी साम्बाको नाम त सम्झिनुहुन्छ तर पुरुष टोलीका खेलाडीको सवालमा भने उहाँको जवाफ ‘म कसैलाई चिन्दिनँ’ भन्ने आयो । यो सचिताको मात्र कमजोरी होइन, बरु नेपाली फुटबलको बजार र राज्यले यसको प्रचारप्रसार गर्न नसक्दा सिर्जना भएको एउटा तितो यथार्थ हो ।

केही दशक अगाडि दशरथ रङ्गशालामा फुटबल खेल हुँदा खुट्टा टेक्ने ठाउँ नहुने गरी जुन भीड र क्रेज उर्लिने गर्थ्याे, त्यो अहिले एकादेशको कथाजस्तै बन्न पुगेको छ । अहिले नेपाली दर्शक फुटबललाई भन्दा धेरै क्रिकेटलाई रुचाउन थालेका छन् जसको प्रत्यक्ष प्रमाण कीर्तिपुर मैदानमा उर्लिने दर्शक रङ्गशाला र भर्खरै सम्पन्न नेपाल प्रिमियर लिगको पहिलो र दोस्रो सिजनले सिर्जना गरेको लोभलाग्दो आर्थिक तथा सामाजिक प्रभाव हो ।

नेपाली क्रिकेट टाेलीले आईसीसीको १५औँ स्थानसम्म पुगेर लगातार दुई वर्ष टी–२० विश्वकप खेलिरहँदा फुटबल टाेलीको बाटो भने दिनानुदिन खस्किँदै गइरहेको छ । दशरथ रङ्गशालामा खेलहरू भइरहेका त हुन्छन् तर दर्शकलाई यसबारे न त खासै थाहा हुन्छ, न त चासो नै जाग्छ । आजका युवाहरू घरेलु फुटबल छोडेर विदेशी टाेलीलाई धेरै समर्थन गर्न थालेका छन् किनभने नेपाली फुटबलमा उनीहरूले न त रणनीति देख्छन्, न त कुनै परिपक्व खेल शैली नै भेट्छन् ।

मकवानपुरका निश्चल केसीको अनुभव पनि यस्तै छ, ‘युरोपियन फुटबलको आधुनिक ट्याक्टिक्स हेर्ने आँखाले जब नेपाली फुटबल हेर्छ, तब मैदानमा विना योजना यत्तिकै बलको पछि खेलाडी कुदिरहेकोजस्तो अल्छीलाग्दो दृश्य मात्र देखिन्छ ।’

‘हाम्रो फुटबल सङ्घकाे नेतृत्वमा हुने मान्छेहरूले खेलाडीलाई भन्दा पनि आफ्नो गोजी भर्ने काम गरिरहेका छन् । स्पेनी फुटबल सङ्घलाई हेर्दा त्यसको निर्देशक र खेलाडीकाे तलब हेर्नुभयो भने खेलाडीले धेरै कमाउँछन् । तर नेपालमा फुटबल नखेल्ने मान्छेले फुटबलमा धेरै कमाइरहेका हुन्छन् । अनि फुटबल खेल्नेले १५ हजारमात्रै कमाइरहेका हुन्छन् । यति पैसाले खेल्न पनि गाह्रै पर्छ नि त’, निश्चलले गुनासो पोख्नुभयो ।

उहाँका अनुसार नेपाली फुटबल यो दुर्गति र सङ्कटको अवस्थामा पुग्नुमा राज्य र फुटबल नियामक निकाय एन्फाको चरम गैरजिम्मेवारी, आन्तरिक कुरीति र भ्रष्टाचार नै मुख्य कारक हुन् । उहाँ थप्नुहुन्छ, ‘एन्फाभित्र पटक पटक हुने तालाबन्दी, आन्दोलन र राजनीतिक हस्तक्षेपका कारण तालिकाअनुसार फुटबल लिग नै हुन सकेको छैन । खेलाडीहरू आफ्नो हकहितका लागि सादोबाटोमा गएर ताला लगाउन र सडक आन्दोलन गर्न बाध्य छन् । फिफा र एएफसीले बारम्बार सरकारी हस्तक्षेप बन्द गर्न र समयमै चुनाव गराउन पत्राचार गरिरहेका छन् भने कतिपय अवस्थामा त एन्फालाई निलम्बनसमेत गरिसकिएको छ ।’

पछिल्लो समय फिफा र एएफसीले फेरि पनि आन्तरिक समस्या नसुलझाए अन्तर्राष्ट्रिय फुटबलबाट निलम्बन गर्ने चेतावनीयुक्त सूचना पठाएपछि नेपाली फुटबल झनै ठूलो अन्योलमा परेको छ । माथिल्लो तहको यही समस्याले गर्दा तल्लो तहमा फुटबलको विकास पूर्णरूपमा ठप्प भएको छ ।

यस्तै अनुभव र धारणा चितवनकाे भरतपुरकी सदिना उप्रेतीको पनि छ । सदिनाका अनुसार नेपालमा फुटबल अगाडि बढ्न नसक्नुमा सीधा सम्बन्ध सरकार र व्यवस्थापनसँग जोडिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) भित्र मौलाएको चरम भ्रष्टाचार, खेलाडीहरूले समयमा तलब नपाउनु र खेलका क्रममा घाइते हुँदा उचित उपचार तथा रेखदेख नहुनु नै नेपाली फुटबल ओरालो लाग्नुको मुख्य कारण हो । राज्यको बलियो सर्मथन र पारदर्शी प्रणाली नभएसम्म साँच्चिकै राम्रो खेल्ने र क्षमतावान् खेलाडीहरू सधैँ ओझेलमा परिरहने र पलायन भइरहने सङ्कट नेपाली फुटबलले भोगिरहेको छ ।

सबैभन्दा ठूलो विडम्बना त के छ भने हाम्रो देशमा एएफसीको न्यूनतम मापदण्ड पूरा गर्ने एउटा पनि गतिलो रङ्गशाला छैन । भक्तपुरकाे चाँगुनारायणका दीपेन्द्र पराजुली भन्नुहुन्छ, ‘एउटै दशरथ रङ्गशाला पनि जीर्ण अवस्थामा छ र यसले न्यूनतम गुणस्तरसमेत पूरा गर्न नसक्दा नेपाली टाेलीले एएफसी च्याम्पियन्स लिग २ जस्ता महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा होम गेमसमेत अर्काको देशमा गएर खेल्नुपर्ने लज्जास्पद परिस्थिति सिर्जना भएको छ ।’

उहाँ भन्नुहुन्छ, ‘हाम्रो सामाजिक र पारिवारिक वातावरण पनि उत्तिकै शिक्षा केन्द्रित छ जहाँ अभिभावकहरू खेलकुदलाई भविष्य मान्न तयार छैनन् र छोराछोरीलाई केवल डाक्टर, पाइलट वा इन्जिनियर बनाउने दौडमा मात्र दौडाइरहेका छन् ।’ बाहिर विदेशमा खेलाडीहरूले एउटा खेल खेल्दा धेरै कमाउँछन् । तर नेपाली खेलाडीले एउटा खोल खेल्दा २ हजार रुपैयाँ पाउँछन् । फुटबल खेलेर जीवनयापन गर्न सकिन्छ र आफ्नो भविष्य सुरक्षित हुन्छ भन्ने विश्वास दिलाउने वातावरण देशमा कतै पनि छैन जसले गर्दा ओलम्पिक वा विश्वकपजस्ता ठूला खेलमञ्चमा नेपाल सधैँ शून्यप्रायः रहने दीपेन्द्रको तर्क छ ।

अर्की फुटबल समर्थक योजना थापाका लागि फुटबल र विश्वकप भनेको एउटा महान् चाडजस्तै हो जसलाई जतिसुकै पढाइको तनाव भए पनि समय व्यवस्थापन गरेर मनाउनै पर्छ । इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) र अर्लिङ हालान्डजस्ता खेलाडीको खेल पछ्याउने योजनाको विचारमा नेपालमै पनि मेसी, रोनाल्डो र हालान्डभन्दा राम्रा र क्षमतावान् खेलाडीहरू जन्मिन सक्छन् । नेपालमा प्रतिभाको कुनै खडेरी छैन तर समस्या के छ भने राज्य र सम्बन्धित निकायले ती हीराजस्ता खेलाडीहरूलाई चिन्न र खोज्न सकेको छैन । थुप्रै प्रतिभावान् युवाहरूले उचित अवसर, सही दिशा र मार्गनिर्देशन नपाएका कारण उनीहरू कहिल्यै लाइमलाइटमा आउनै पाउँदैनन् ।

झापाका सुमिन गिरी पनि नेपालमा मेसी र रोनाल्डोभन्दा पनि उत्कृष्ट प्रतिभा र क्षमता भएका खेलाडीहरू हुन सक्छन् तर राज्यले उनीहरूलाई कहिल्यै चिन्न र खोज्न सकेन भन्नुहुन्छ । ‘नेपालमा प्रतिभावान् खेलाडीहरूले न त उचित अवसर पाएका छन्, न त आधुनिक उपकरण र अभ्यास गर्ने मैदान नै ।’ भविष्यको अनिश्चितताका कारण कैयौँ खेलाडीहरू आफ्नो सपना र खेल जीवनलाई तिलाञ्जली दिँदै वैदेशिक रोजगारी वा अन्य सुरक्षित पेशा खोज्न हिँडिसकेका छन् ।

यो अत्यन्तै गम्भीर मोडबाट नेपाली फुटबललाई पुनरुत्थान गर्न र पुरानै क्रेजमा फर्काउन आमूल परिवर्तन र शुद्धीकरणको खाँचो छ । सबैभन्दा पहिला अन्तर्राष्ट्रिय निकायहरूको शर्तबमोजिम राजनीतिक हस्तक्षेप पूर्णरूपमा बन्द गरी एन्फाको असफल पुराना बोर्ड र पदाधिकारीहरूलाई भन्दा नयाँ कुशल नेतृत्व ल्याउनुपर्छ जसरी नेपाल क्रिकेट सङ्घ (क्यान) मा व्यवस्थापन फेरिएपछि क्रिकेटले नयाँ उचाइ लियो । खेलाडीहरूलाई सही योजना, व्यवस्थित प्रशिक्षण र सम्मानजनक आर्थिक सुविधा दिएर खेलबाटै सुरक्षित भविष्य बन्न सक्छ भन्ने विश्वास दिलाउनु आवश्यक छ ।

युरोपका देशहरूमा जस्तै टोल–टोलमा खेल मैदान र पूर्वाधारको विकास गरिनुपर्छ अनि बल्ल बालबालिकाहरूले गल्ली र सडकमा लुकेर खेल्नु नपरोस् र उनीहरूलाई त्यहाँबाट लखेटिने डर नहोस् । अहिले देशमा क्रिकेट एकेडेमी र फुटसलहरू फस्टाएजस्तै विद्यालय तहदेखि नै फुटबल एकेडेमीहरूको स्थापना गरिनुपर्छ । शुरूमै विश्वकपको ठूलो सपना देख्नुभन्दा पहिला आफ्ना छिमेकी बङ्गलादेश, श्रीलङ्का र भारतसँग बलियो प्रतिस्पर्धा गर्दै एशियन कप र विश्वकप छनाेटसम्म पुग्ने जग निर्माण गर्नुपर्छ । जबसम्म खेलाडीलाई पहिलो प्राथमिकता दिएर अहिलेको बिग्रिएको आधारलाई जरैदेखि परिवर्तन गरिँदैन तबसम्म नेपाली फुटबल सङ्कटको यो भुमरीबाट निस्कन सक्दैन ।

विश्वकप २०२६ को जतिसुकै जर्सी र नारा बजारमा देखिए पनि नेपाली फुटबलको वर्तमान तस्वीरले भने एउटा गम्भीर प्रश्न खडा गरेको छ । नेपालका कुनाकाप्चामा विदेशी स्टारहरू भन्दा पनि अब्बल खेल्न सक्ने क्षमता बोकेका युवाहरू छन् ततर तिनीहरू मैदानको अभाव, एन्फाको आन्तरिक राजनीति र सरकारको उदासीनताका कारण गुमनाम छन् ।

विश्वकपको रङ्गीन उमङ्ग चलिरहँदा नेपाली फुटबललाई पनि नयाँ दिशा दिएर भविष्यमा नेपालकै नाम विश्वमञ्चमा चम्काउने वातावरण बनाउनु आजको सबैभन्दा ठूलो आवश्यकता बनेको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

gas_YUeyg2p32O

जनकपुरका ग्याँस डिलरहरूमा अनुगमन तीव्र

जनकपुरधाम । खाना पकाउने एलपीजी ग्याँसको देशभरि अभाव भएपछि जनकपुरको नगर क्षेत्रमा रहेका ग्याँस डिलरहरूमा...
IMG_3249-696x361 (1)

वीरगञ्जमा मापसे गरी चलाएको ट्याङ्करको ठक्करबाट ई–रिक्साका ९ यात्रु घाइते

बारा, २१ साउन । पर्साको वीरगञ्ज महानगरपालिका–२४ स्थित बहुअरी चोक नजिकै हुलाकी सडक-खण्डमा बुधबार राति...
IMG-20260806-WA0000-720x470-1

धनसार पुल नजिकै १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी

बारा । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार पुल नजिकै पेट्रोल बोकेको ट्याङ्कर...
Ngt-butwan-Road-1280x720

नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

चितवन, २१ साउननिर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख दिएको नारायणगढ–बुटवल सडकखण्ड यतिबेला...
bp-1-1280x720 (1)

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन, २१ साउनबिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी) प्रत्यारोपणका लागि आवश्यक भौतिक एवं चिकित्सकीय...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०