देशभर मूल्य पारदर्शिता र सरसफाइ सप्ताह शुरु
काठमाण्डौ — बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि देशभर विशेष अभियान सञ्चालन गर्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा ‘मूल्य पारदर्शिता सप्ताह’ आयोजना गरिएको हो ।
बजारमा हुने गैरकानुनी क्रियाकलाप रोक्नसप्ताहव्यापी अभियानले ‘कोसेढुङ्गा’ को काम गर्ने विश्वास सरकारको छ । सबै सरोकारवाला निकाय, नागरिक समाज र सञ्चारकर्मीलाई अभियानमा सक्रिय सहयोग गर्न र बजारमा हुने अनियमितताको खबरदारी गर्नसमेत सरकारले आग्रह गरेको छ । यो अभियान आउँदो जेठ ३ गतेसम्म चल्नेछ ।
अभियानअन्तर्गत हरेक पालिकाले आफ्नो क्षेत्रभित्रका वस्तु तथा सेवा प्रदायकहरूलाई अनिवार्य रूपमा मूल्यसूची राख्न आह्वान गर्नेछन् । मूल्यसूचीको पालना भए नभएकोबारे पालिकाले नै नियमित अनुगमन गर्ने जिम्मेवारी पाएका छन् ।
यस्तै, जिल्ला प्रशासन कार्यालयहरूलाई जिल्ला तहमा बजार अनुगमन समितिलाई सक्रिय बनाउँदै मूल्य पारदर्शिताका लागि व्यापक प्रचारप्रसार गर्ने र नियमन सुनिश्चित गर्ने जिम्मेवारी दिइएको छ । बजारमा वस्तु तथा सेवाको मूल्यमा एकरूपता नहुँदा र उपभोक्ताहरूले वास्तविक मूल्य थाहा नपाउँदा ठगिने क्रम बढेको व्यापक गुनासो आएपछि सरकारले यो कदम चालेको हो ।
यस्तै, सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन आजदेखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन भएको छ । यो अभियान आउँदो जेठ १ गतेसम्म चल्नेछ । सरकारी कार्यालयमा नियमित सरसफाइ र फोहोर व्यवस्थापनको स्पष्ट मापदण्ड नहुँदा सेवा प्रवाह, कर्मचारी र सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको सन्दर्भमा यो अभियान शुरु भएको हो ।
सरकारी सूचना बोर्ड, नागरिक बडापत्र र सङ्केत चिह्नहरू स्पष्ट तथा व्यवस्थित हुनुपर्नेछ । चर्किएका वा उक्किएका भित्ताहरूको मर्मत र रङ्गरोगन गरिनेछ । मुख्य सेवा क्षेत्र र प्रवेशद्वारलाई आकर्षक तथा सफा राखिनुपर्नेछ । यस्तै, सबै शौचालयहरूलाई दुर्गन्धरहित बनाइनेछ र नियमित पानीको व्यवस्था सुनिश्चित गरिनेछ ।
हात धुने ठाउँमा साबुन अनिवार्य गरिएको छ र दैनिक सफाइको अभिलेख राख्नुपर्नेछ । शौचालयहरू महिलामैत्री, स्यानिटरी डिस्पोजल सुविधायुक्त र सम्भव भएसम्म अपाङ्गतामैत्री हुनुपर्नेछ । कार्यालयहरूले कम्तीमा दुई प्रकारका डस्टबिन राखी कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने अभियानको उद्देश्य छ ।
कार्यालय परिसरको १०० मिटर वरिपरिको क्षेत्र, नाली र ढलहरू सफा हुनुपर्नेछ । पार्किङ क्षेत्रको सुधार र अव्यवस्थित तार वा पोस्टरहरू हटाउनुपर्ने सूचक राखिएको छ । कार्यालयमा ‘हेल्प डेस्क’को व्यवस्था गरी सेवाग्राहीले सम्मानित र व्यवस्थित महसुस गर्ने वातावरण बनाइनेछ । सूचना प्रणालीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ ।
