मिलनचोक । भरतपुर–१८, मिलनचोकस्थित मिलन क्लब परिसरमा गणेश पञ्चायन मन्दिर निर्माण भइरहेको छ । धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामाजिक एकताको साझा प्रतीकका रुपमा मन्दिर निर्माण हाल स्थानीयको साझा अभियानका रुपमा अघि बढेको हो ।
यस अभियानमा सरकारी निकायदेखि स्थानीय समाजसेवी, व्यवसायी, बुद्धिजीवी तथा सर्वसाधारणले उत्साहजनक सहभागिता जनाएको मन्दिर निर्माण समितिका अध्यक्ष टुकमान गुरूङले बताए । उनका अनुसार मन्दिर निर्माणमा स्थानीय सरकार, प्रदेश सरकार र समुदायको सहकार्य देखिएको छ ।
मन्दिर निर्माणका लागि बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयबाट १५ लाख रूपैयाँ सहयोग प्राप्त भएको छ । त्यसैगरी, भरतपुर–१८ को वडा कार्यालयबाट १० लाख रूपैयाँ र भरतपुर महानगरबाट ८ लाख रूपैयाँ सहयोग उपलब्ध भएको छ । यसका अतिरिक्त स्थानीय मिलन क्लबका शुभचिन्तक, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरुले व्यक्तिगतरुपमा आर्थिक सहयोग गरिरहेका छन् । हाल सार्वजनिक गरिएको सहयोग विवरणअनुसार सरकारी अनुदानसहित दाताहरुबाट कुल ४४ लाख ३३ हजार ३१८ रूपैयाँ सहयोग प्रतिबद्धता तथा सङ्कलनको विवरण रहेको छ ।
मन्दिर निर्माणका लागि सहयोग गर्ने दातामध्ये भरतपुर–२६ का केशवराज थापाले एक लाख १३ हजार ३३३ रूपैयाँ, रामकृष्ण पण्डितले एक लाख ११ हजार १११ रूपैयाँ, महेन्द्र तथा दीपेन्द्र चापागाईंले एक लाख पाँच हजार ५५५ रूपैयाँ र दुर्गा अधिकारीले एक लाख एक हजार रूपैयाँ सहयोग गरेका छन् । त्यसैगरी, मिलनचोकका सन्तबहादुर भण्डारीले ७० हजार १७५ रूपैयाँ, वेदप्रसाद रेग्मीले ६० हजार १०५ रूपैयाँ तथा शोभाकान्त पोखरेल, ईश्वरीदत्त रेग्मी, यमकान्त भण्डारी, कृष्ण केसी र पीताम्बर रेग्मीले जनही ५५ हजार ५५५ रूपैयाँ सहयोग गरेका छन् ।
त्यस्तै, डम्बरकुमारी भण्डारीले ५१ हजार ११५ रूपैयाँ, डोलनाथ खनाल, कृष्णबहादुर खत्री र किरणराज मरहठ्ठाले जनही ५० हजार ५५५ रूपैयाँ सहयोग गरेका छन् भने नारायण पौडेलले ५० हजार १५ रूपैयाँ सहयोग गरेका छन् । चन्द्रसूर्य सहकारी संस्था, लक्ष्मीकान्त दवाडी, गोपालप्रसाद रिमाल तथा अन्नपूर्ण बहुउद्देश्यीय सहकारी संस्थाले पनि आर्थिक सहयोग गरेका छन् ।
मन्दिर निर्माण समितिले सहयोग गर्ने दाताको योगदानलाई सम्मानपूर्वक अभिलेखीकरण गर्ने व्यवस्था पनि गरेको छ । आर्थिक सहयोगको रकमअनुसार नगद रसिद, प्रमाणपत्र, फ्रेम, खादा, दोसल्ला तथा शिलालेख र ताम्रपत्रमा नाम उल्लेख गर्ने व्यवस्था तय गरिएको छ ।
समितिले सार्वजनिक गरेको सहयोग विवरणअनुसार एक रूपैयाँदेखि पाँच सय रूपैयाँसम्म सहयोग गर्ने दाताको रकम दानपेटिकामा राखिने छ । पाँच सय एकदेखि एक हजार रूपैयाँसम्म सहयोग गर्नेको नगद रसिद काटिने छ भने एक हजार एकदेखि पाँच हजार रूपैयाँसम्म सहयोग गर्ने दातालाई नगद रसिदसहित प्रमाणपत्र प्रदान गरिने छ । पाँच हजार एकदेखि १० हजार रूपैयाँसम्म सहयोग गर्नेको नाम शिलालेखमा राखिने छ । १० हजार एकदेखि २५ हजार रूपैयाँसम्म सहयोग गर्ने दातालाई फ्रेमसहितको प्रमाणपत्र र खादा प्रदान गरी शिलालेखमा नाम उल्लेख गरिने छ ।
त्यसैगरी, २५ हजार एकदेखि ५० हजार रूपैयाँसम्म सहयोग गर्नेलाई चाँदीको फ्रेमसहितको प्रमाणपत्र र दोसल्ला प्रदान गरी शिलालेखमा नाम राखिने छ । ५० हजार एकदेखि एक लाख रूपैयाँसम्म सहयोग गर्ने दाताको हकमा चाँदीको फ्रेमसहितको प्रमाणपत्र, दोसल्ला र दुई जनाको नाम शिलालेखमा राखिने व्यवस्था छ । त्यस्तै, एक लाख एकदेखि दुई लाख रूपैयाँसम्म सहयोग गर्ने दातालाई गोल्डेन फ्रेमसहितको प्रमाणपत्र र दोसल्ला प्रदान गरी चार जनाको नाम शिलालेखमा राखिने छ । दुई लाख एकदेखि पाँच लाख रूपैयाँसम्म सहयोग गर्ने चार जनाको नाम ताम्रपत्रमा उल्लेख गरिने छ । पाँच लाख एक हजार रूपैयाँभन्दा बढी सहयोग गर्ने दाताको परिवारजनको नामसमेत ताम्रपत्रमा राखिने व्यवस्था गरिएको छ ।
