काठमाण्डाै – डोल्पाको सदरमुकाम दुनैमा रहेको कारागारबाट सुरुङ खनेर ८ जना कैदीबन्दी फरार भएको घटनाको छानबिन गर्न प्रहरीले तीन सदस्यीय समिति गठन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय डोल्पाले प्रहरी निरीक्षक विनय सिंहको नेतृत्वमा समिति गठन गर्दै फरार भएका कैदीबन्दीहरूको व्यापक खोजी कार्य तीव्र पारिएको जनाएको छ । उनीहरू शुक्रवार राति कारागारभित्रबाट सुरुङ खनेर फरार भएका थिए ।
हिजो बिहान घटनाको जानकारी प्राप्त भएपछि खोजी भइरहेको छ । फरार भएका कैदीबन्दीहरूमा विभिन्न आपराधिक तथा कानूनी मुद्दामा सजाय भोगिरहेका व्यक्तिहरू रहेका छन् । उनीहरूले जेलभित्रैबाट सुरुङ मार्ग तयार गरी सुरक्षाकर्मीलाई छल्दै बाहिर निस्कन सफल भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
घटनापछि जिल्लाभर सुरक्षा सतर्कता उच्च पारेको र सम्भावित सबै नाकामा जाँच कडा बनाएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।
फरार हुनेहरूमा डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालीप्रसाद रोकाया, त्रिपुरासुन्दरी–४ का २८ वर्षीय हरिबहादुर बुढा, जाजरकाेटकाे बोरेकोट गाउँपालिका–१ का २५ वर्षीय यज्ञ विक रहेका छन् । यस्तै रुकुम पश्चिमको आठबीसकाेट नगरपालिका–३ का ३२ वर्षीय आदेश भण्डारी, आठबीसकोट–५ का ३८ वर्षीय तिलक भण्डारी, आठबीसकोट–१० का ३२ वर्षीय रामबहादुर कामी, सल्यानकाे कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना र जाजरकोटको नलगाड नगरपालिका–९ का १९ वर्षीय कपिल परियार पनि फरार रहेका छन् ।
