चितवन । सुस्ताउँदै गएको घरजग्गा व्यवसायलाई चलायमान बनाउने र निर्माण क्षेत्रमार्फत आर्थिक गतिविधि बढाउने उद्देश्यले चितवनमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुने भएको छ
भिग्रुप इभेन्ट्स र एसवन होम्सको आयोजनामा एक्स्पोको दोस्रो संस्करण आगामी मंसिर २५ देखि २७ गतेसम्म चितवन उद्योग संघको एक्स्पो सेन्टरमा सञ्चालन हुनेछ।
एक्स्पोमा आधुनिक निर्माण सामग्री, घरको डिजाइन, निर्माण प्रविधि तथा सुरक्षित आवाससम्बन्धी जानकारी उपलब्ध गराइने आयोजकले जनाएको छ। घरजग्गा खरिदकर्ता र विक्रेताबीच प्रत्यक्ष भेटघाट तथा निर्माण व्यवसायी, इन्जिनियर, विज्ञ र उपभोक्ताबीच अन्तरक्रिया गर्ने अवसरसमेत प्रदान गरिनेछ।
तीन दिनसम्म सञ्चालन हुने एक्स्पोमा करिब ६० वटा स्टल रहने र २५ हजार अवलोकनकर्ता सहभागी हुने आयोजकको अपेक्षा छ। प्रदर्शकका लागि स्टल बुकिङ सुरु भइसकेको छ। इच्छुकले buildnepalexpo.com मार्फत स्टल बुकिङ गर्न सक्नेछन्।
निर्माण सामग्री तथा सेवाको प्रवर्द्धन, सुरक्षित र किफायती आवास निर्माणबारे जानकारी र युवालाई स्वदेशमै उद्यम तथा व्यवसाय गर्न प्रोत्साहन गर्नु एक्स्पोको उद्देश्य रहेको आयोजकले जनाएको छ। एक्स्पोमा सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
