काठमाडौँ,असोज २८-
आगामी मंसिर १ गतेदेखि कोरियन भाषा परीक्षा सञ्चालन हुने भएको छ। ईपीएस कोरिया शाखाले सूचना जारी गरेर परीक्षा तालिका सार्वजनिक गरेको हो। यस पटक परीक्षामा दुईवटा नयाँ क्षेत्र थप गरिएका छन्। यसअघि उत्पादनमुलक क्षेत्र र कृषि तथा पशुपालन क्षेत्रमा परीक्षा हुने गरेकोमा यसपटकदेखि सेवा क्षेत्र र वन क्षेत्र थप गरिएका हुन्। परीक्षा क्षेत्रअनुसार सञ्चालन हुनेछ। नोभेम्बर १७ देखि सेवा क्षेत्र, नोभेम्बर १८ देखि वन क्षेत्रमा परीक्षा सञ्चालन हुनेछ। नोभेम्बर २० देखि कृषि तथा पशुपालन क्षेत्रको परीक्षा सञ्चालन हुनेछ। उत्पादनमुलक क्षेत्रको परीक्षा चाहिँ डिसेम्बर ११ देखि मात्र सुरु हुनेछ। नोभेम्बर १७ देखि सुरु हुने परीक्षा २०२७ फेब्रुअरी २५ सम्म सञ्चालन हुनेछ।
७६ हजार बढीको आवेदन
७६ हजार १७३ जनाले परीक्षाका लागि आवेदन दिएका छन्। यसपटक पनि उत्पादनमूलक क्षेत्रमा आवेदन दिनेको संख्या उच्च छ। जसमा ५३ हजार १०३ जनाले उत्पादनमुलक क्षेत्रमा परीक्षा दिने छन्। कृषि तथा पशुपालनमा २० हजार ९०७, वन क्षेत्रमा १ हजार १२४ र सेवा क्षेत्रमा १ हजार ३९ जनाले आवेदन दिएका छन्।
भाषा पास गर्न निकै कठिन
कोरियन भाषा उत्तीर्ण गर्न निकै कठिन छ। ईपीएस लागू भएका १८ देशमध्ये नेपालमा प्रतिस्पर्धा उच्च छ। जसका कारण कटलाइन पनि निकै उच्च हुने गरेको छ। सन् २००८ देखि २०२४ सम्म ८ लाख ३८ हजार ८ सय ३२ जनाले ईपीएसका लागि आवेदन दिएका थिए। जसमा ७ लाख ४१ हजार १ सय ६५ जना सहभागी भए भने १ लाख ३२ हजार ६ सय जना उत्तीर्ण भए।
समग्रमा सफलता दर १७.९ प्रतिशत मात्र देखिन्छ। उत्तीर्ण भएकामध्ये हालसम्म १ लाख २१ हजार ७ सय ३१ जना कोरिया प्रस्थान गरिसकेका छन्। कोभिड–१९ महामारी र अन्य प्राविधिक कारणले २००९, २०१२, २०२० र २०२१ मा भाषा परीक्षा सञ्चालन नहुँदा सो समयमा कोरिया जाने नेपाली कामदार घटेका थिए। कोरिया जानका लागि भाषा परीक्षा उत्तीर्ण गरेर मात्र हुँदैन। सिप परीक्षणमा पनि उत्तीर्ण हुनुपर्छ।
कोरिया जाने नेपालीको संख्या बढ्दै
रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जाने नेपाली युवायुवतीको संख्या बढ्दै गएको छ। नेपाल सरकार र दक्षिण कोरियाबीच सन् २००७ मा रोजगार अनुमति प्रणाली (ईपीएस) सम्बन्धी सम्झौता भएको थियो। उक्त सम्झौतापछि हालसम्म करिब १ लाख २१ हजार नेपाली श्रमिकले दक्षिण कोरियामा रोजगारी प्राप्त गरिसकेका छन्। सन् २०२५ मा मात्रै विभिन्न क्षेत्रमा ११ हजार १ सय ७८ जना नेपाली कामदार दक्षिण कोरिया पुगेका छन्। कोरियास्थित अध्यागमन कार्यालयको तथ्यांकअनुसार सन् २०२६ फेब्रुअरीसम्म कोरियामा बसोबास गर्ने नेपालीको कुल संख्या ९४ हजार १९४ छ। यो संख्या त्यहाँ बसोबास गर्ने आप्रवासीहरूको सूचीमा पाँचौं स्थानमा पर्छ।
आकर्षक गन्तव्यका रूपमा स्थापित कोरियाले ईपीएस लागू भएका देशहरूमध्ये नेपालबाट तुलनात्मक रूपमा बढी संख्यामा कामदार लैजाने गरेको छ। सुरुवाती चरणमा भाषा परीक्षा उत्तीर्ण गरेर मात्र कोरिया जाने व्यवस्था थियो। सन् २०१९ देखि भाषाका साथै सीप परीक्षण (स्किल टेस्ट) लाई पनि अनिवार्य गरिएको छ।
