अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य रहेको दाबी गर्दै आफूले दोस्रो कार्यकाल शुरू गरेयता ८ वटा युद्ध अन्त्य गराएको जिकिर गर्नुभएको छ ।
ओभल अफिसमा हिजो पत्रकारसँग कुरा गर्दै ट्रम्पले आफूले पुरस्कार पाए पनि/नपाए पनि शान्तिका लागि अरूभन्दा धेरै काम गरेको दाबी गर्नुभएकाे समाचार संस्था एएनआईले जनाएकाे छ ।
‘मैले अरू कसैले नगरेको काम गरेको छु । मैले घमण्ड गरिरहेको छैन, म तपाईँहरूलाई तथ्य मात्र बताउँदैछु । मैले ८ वटा युद्ध अन्त्य गराएँ’, उहाँले भन्नुभयो ।
ट्रम्पले नोबेल समितिले आफूजस्ता व्यक्तिलाई पुरस्कार नदिने प्रतिष्ठा बनाएको टिप्पणी गर्दै आफूलाई पुरस्कार नदिइए पनि त्यसले आफूले गरेका कामको महत्त्व कम नहुने बताउनुभयो । उहाँले सन् २००९ मा तत्कालीन राष्ट्रपति बाराक ओबामालाई नोबेल शान्ति पुरस्कार दिइएको विषयमा समेत प्रश्न उठाउनुभयो ।
ट्रम्प प्रशासनले आर्थिक दबाव, व्यापार रणनीति र महसुलमार्फत विभिन्न देशलाई कूटनीतिक वार्तामा ल्याउन सफल भएको दाबी गर्दै आएको छ । तर डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो तथा कम्बोडिया–थाइल्यान्ड सीमा क्षेत्रमा पुनः द्वन्द्व देखिएको र युक्रेनमा स्थायी शान्ति कायम हुन नसकेको भन्दै उहाँको दाबीमाथि प्रश्न उठेको छ । मध्यपूर्वमा इरानसँग सम्बन्धित निरन्तर तनावले पनि उहाँको शान्ति प्रयासलाई चुनौती दिएको छ ।
यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दाबेदारमा पोप लियो, अन्तर्राष्ट्रिय फौजदारी अदालत र प्यालेस्टिनी क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिवेदकलगायतका नाम चर्चामा छन् ।
सन् २०२६ को नोबेल पुरस्कार विजेताको घोषणा भोलि हुँदैछ । गएकाे वर्ष याे पुरस्कार भेनेजुएलाकी विपक्षी नेता मारिया काेरिना मचाडाेले पाउनुभएकाे थियाे ।
