काठमाण्डाै – नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारी पूरा भएको जनाएको छ । महाधिवेशनस्थलमा आज पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसले महाधिवेशनको तयारी पूरा भइसकेको जानकारी दिनुभएको हो ।
चालिसेका अनुसार महाधिवेशनको उद्घाटन सभापतिले नै गर्ने परम्परा रहे पनि यस पटक पूर्वसभापति शेरबहादुर देउवामार्फत गराउने प्रयास गरिएको छ । तर देउवा उपस्थित नभएमा सभापति गगन थापाले नै उद्घाटन गर्ने उहाँले बताउनुभयो ।
महाधिवेशनमा सभापति गगन थापाले पार्टीको आउँदो कार्यपत्र, उपसभापति विश्वप्रकाश शर्माले समसामयिक र महामन्त्री प्रदीप पौडेलले सङ्गठनात्मक प्रतिवेदन पेश गर्ने प्रवक्ता चालिसेले बताउनुभयो । सकभर सर्वसम्मत नेतृत्व चयन गर्ने र नभए लोकतान्त्रिक प्रक्रियामा जाने भन्दै उहाँले नेताभन्दा नीति चयनको अधिवेशन बनाउनमा जोड दिने बताउनुभयो ।
यसैबीच महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको छ । पार्टी कार्यालय सानेपामा दिउँसोदेखि महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको हो । हरेक प्रतिनिधिले ३५ सय रुपैयाँमा झोला पाउने प्रवक्ता चालिसेले बताउनुभयो ।
भोलि उद्घाटन हुने महाधिवेशनअन्तर्गत १९ र २० गते बन्दसत्र हुनेछ । २१ र २२ गते चुनाव प्रक्रियामा महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् ।
केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारको मनोनयन दर्ता पर्सि साेमवार हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
