काठमाण्डाै – जापानमा चलिरहेको २०औँ संस्करणको एशियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । भारत, श्रीलङ्का, पाकिस्तान र बङ्गलादेश अन्तिम चारमा पुगेका हुन् ।
प्रतियोगिताको ४ वटै क्वाटरफाइनल खेल वर्षाका कारण टस पनि नभई रद्द भएपछि भारत, श्रीलङ्का, पाकिस्तान र बङ्गलादेश आईसीसीको शीर्ष वरीयताका आधारमा अन्तिम चारमा पुगेका हुन् ।
प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा पाकिस्तान र हङकङ, दोस्रो क्वाटरफाइनलमा भारत र अफगानिस्तान, तेस्रो क्वाटरफाइनलमा नेपाल र श्रीलङ्का तथा चौथो क्वाटरफाइनलमा बङ्गलादेश र मलेशियाबीच खेल हुने तालिका थियो । तर निशिनमा रहेको करोगी स्पोर्ट्स पार्कमा वर्षा बाधक बन्यो ।
प्रतियोगिताको सेमिफाइनल खेल आउँदो बिहीवार करोगी स्पोर्ट्स पार्कमा हुनेछ । पहिलो खेलमा बिहान पौने ६ बजे पाकिस्तान र बङ्गलादेश तथा दोस्रो खेलमा बिहान पौने ११ बजे भारत र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको फाइनल र तेस्रो स्थानका लागि हुने प्रतिस्पर्धा पनि निशिन नै खेलस्थल रहनेछ । पर्सि पनि वर्षाको सम्भावना कायमै छ तर मौसममा सुधार आउने पूर्वानुमान छ ।
बाँकी खेलहरूमध्ये कुनैमा बराबरीको नतिजा आएमा ‘सुपर ओभर’ मार्फत विजेताको टुङ्गो लाग्नेछ । सेमिफाइनलमा यदि मौसमका कारण खेल वा सुपर ओभर पूरा हुन नसकेमा उच्च वरीयताको टोली फाइनलमा प्रवेश गर्नेछ । आ–आफ्ना खेलमा भारत र पाकिस्तान उच्च वरीयतामा रहेका छन् ।
फाइनल खेल वर्षाका कारण रद्द भएमा दुवै टोलीले संयुक्तरूपमा स्वर्ण पदक प्राप्त गर्नेछन् ।
