काठमाण्डाै – पहिलो संस्करणको युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) को उपाधि एडिनबर्ग क्यासल रकर्सले जितेको छ ।
गएराति आयरल्यान्डको डब्लिनमा भएको फाइनलमा एडिनबर्ग क्यासल रकर्सले बेल्फास्ट वुल्भ्सलाई ७ विकेटले हरायो । बेल्फास्टले दिएको १५१ रनको लक्ष्य एडिनबर्गले १८ ओभर ४ बलमा ३ विकेट गुमाएर भेटायो । एडिनबर्गका आन्द्रेस गौसले नटआउट ९० रन बनाए । बेल्फास्टका मार्क एडर, म्याथ्यु हम्फ्रेज र ग्याभिन होईले १/१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको बेल्फास्टले २० ओभरमा ५ विकेट गुमाएर १५० रन बनायो । बेल्फास्टका टिम टेक्टरले ८४ रन बनाए । एडिनबर्गका ट्रेन्ट बोल्टले २ विकेट लिए ।
पहिलाे संस्करणमा एडिनबर्ग, बेल्फास्टसहित एमस्टर्डम फ्लेम्स, रटरडम डकर्स, डब्लिन गार्जियन्स र ग्लास्गो कस्मिक गरी ६ वटा टोली सहभागी थिए । प्रतियोगितामा आयरल्यान्ड, स्कटल्यान्ड र नेदरल्यान्ड्सबाट २/२ वटा टोली सहभागी भएका हुन् ।
