काठमाण्डाै – पोहोर नवयुवा आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको भाटभटेनी सुपर मार्केटको टङ्गाल स्टोर आजदेखि सञ्चालनमा आउँदैछ ।
आगजनीबाट ठूलो क्षति पुगेको स्टोरको पुनर्निर्माण सकिएपछि आज बिहान १० बजेदेखि पुनः सञ्चालनमा ल्याउन लागिएको हो ।
भाटभटेनी कम्पनीका अनुसार आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका १२ स्टोरमध्ये टङ्गालसहित १० वटा पुनः सञ्चालनमा आइसकेका छन् । दमक र हेटौँडामा रहेको स्टोरको पुनर्निर्माण पनि अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । ती दुवै स्टोरसमेत छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले आगजनीबाट स्टोरहरूमा ठूलो क्षति पुगे पनि त्यसलाई चुनौतीका रूपमा लिएर पुनः सञ्चालन गर्ने लक्ष्यका साथ अघि बढेको बताउनुभएको छ ।
आन्दोलनका क्रममा ठूलो भौतिक क्षति भए पनि कम्पनीले आफ्ना १० हजारभन्दा धेरै कर्मचारीको रोजगारीलाई निरन्तरता दिएको जनाएको छ ।
