नयाँ दिल्ली — अमेरिकाका दुबै सदनबाट पारित प्रतिबन्ध भएका रुसी लक्षित विधेयकबारे भारतले कडा जवाफ फर्काएको छ । आफ्ना १ अर्ब ४० करोड जनताको ऊर्जा सुरक्षाका लागि विविध स्रोतबाट तेल खरिद जारी राख्ने भारतले प्रस्ट पारेको छ ।
अमेरिकाको तल्लो सदनमा मंगलबार विधेयकको पक्षमा २ सय ६२ र विपक्षमा १ सय ५९ मत परेको थियो । यसअघि गत महिना माथिल्लो सदन (सिनेट) मा ८६-११ ले यो विधेयक पारित भएको थियो ।
विधेयकले अमेरिकी राष्ट्रपतिलाई रुसी तेल र ग्यासका प्रमुख खरिदकर्ताहरूमाथि १०० प्रतिशतसम्म भन्सार महसुल लगाउने अधिकार दिएको छ । अब यो विधेयक कानुन बन्नका लागि राष्ट्रपति डोनल्ड ट्रम्पले प्रमाणीकरण गर्नमात्रै बाँकी छ ।
चीन र भारत रुसी कच्चा तेलका प्रमुख आयाकर्ता हुन् । रुससँग भारतको दशकौंदेखिको सैन्य सम्बन्ध तथा रणनीतिक साझेदारी पनि छ ।
भारतको विदेश मन्त्रालयले भनेको छ, ‘विगतका महिनाहरूमा विभिन्न अमेरिकी अधिकारीहरूसँग उच्च तहमा यो विषयमा छलफल भइसकेको छ । यसले द्विपक्षीय सम्बन्धमा मात्र नभई अन्तर्राष्ट्रिय ऊर्जा बजारमा पार्न सक्ने सम्भावित असरबारे पनि भारतीय पक्षले अमेरिकासँग प्रष्ट रूपमा कुरा राखिसकेको छ ।’
रुसको ऊर्जा र रक्षा क्षेत्र, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अन्य उच्च अधिकारीहरूका साथै पश्चिमी प्रतिबन्ध छल्न प्रयोग हुने रुसी ‘श्याडो फ्लीट’ लाई लक्षित गर्दै ल्याइएको प्रतिबन्ध विधेयक अमेरिकाको तल्लो सदनबाट बुधबार पारित भएको थियो ।
रुसी अर्थतन्त्रलाई कमजोर पार्नेगरी अमेरिकाले ल्याएको विधेयकपछि भारतीय विदेश मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै भन्यो, ‘भारत आफ्ना १ अर्ब ४० करोड जनताका लागि ऊर्जा सुरक्षा सुनिश्चित गर्न दृढ रूपमा प्रतिबद्ध छ। भारतले परिवर्तित बजार गतिशीलताका आधारमा विविध स्रोतबाट ऊर्जा आयात गर्न जारी राख्नेछ ।’
विदेश मन्त्रालयले कडा शब्दमा भन्यो, ‘भारतीय पक्षले आफ्ना व्यापारिक तथा आर्थिक हितहरूको रक्षाका लागि आवश्यक पर्ने सबै उपायहरू अपनाउने आफ्नो दृढ संकल्पलाई पनि स्पष्ट रूपमा अवगत गराइसकेको छ ।’
अमेरिका र पश्चिमी देशहरूको दबाब तथा युक्रेन युद्धका बाबजुद भारतले रुससँगको सम्बन्धलाई कायम राख्दै आएको छ । हालै ब्रिक्स शिखर सम्मेलनअघि रुसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा उच्चस्तरीय वार्ता पनि भएको थियो ।
पश्चिम एशियामा द्वन्द्व चर्किएपछि विश्वव्यापी रुपमा कच्चा तेलको संकट गहिरिएको छ । भारतले रुसबाट कच्चा तेलको आपूर्ति बढाउँदै यो संकट कार्ने काम गरेको छ । भारतमा गत मार्च महिनामा रुसबाट हुने कच्चा तेलको आयात बढेर प्रतिदिन २२ लाख ५० हजार ब्यारेल पुर्याएका थिए, जुन अघिल्लो वर्षको मार्चको अवधिको तुलनामा लगभग दोब्बर हो ।
र गत जुलाईमा यो आयात बढेर कीर्तिमानी २८ लाख १० हजार ब्यारेल पुगेको थियो । त्यस्तै, अगस्टमा आपूर्ति केही घटेर २० लाख ७० हजार ब्यारेलमा झरेको छ।
