काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाकाको लोमान्थाङ गाउँपालिका–४ न्हेधुङमा रहेको मुस्ताङ भन्सार र प्लान्ट क्वारेन्टाइन कार्यालयमा कर्मचारी थपिएको छ ।
मुस्ताङ भन्सार भन्सारका लागि ६ जना कर्मचारी थप गरी भन्सार विभागले खटाउने अन्तिम तयारी गरेको छ भने वनस्पति क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले ३ जना कर्मचारीलाई मुस्ताङ पठाइसकेको छ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै भन्सार विभागले मुस्ताङको कोरला नाकाको भन्सार कार्यालयका लागि छ जना कर्मचारी काजमा पठाउने तयारी गरिएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले जानकारी दिनुभयो ।
अहिले मुस्ताङ भन्सारमा १२ जना मात्रै कर्मचारी छन् । रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै भन्सार विभागले मुस्ताङ भन्सार कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी पदपूर्ति गर्न लागेको हो । रसुवागढी र तातोपानी नाका पूर्णरुपमा बन्द भएसँगै मुस्ताङको कोरला नाका वैकल्पिक मार्गका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।
भन्सार प्रमुख चुडालले क्वारेन्टाइनका लागि आउने कर्मचारीको आवश्यक समन्वय गर्नु भन्ने विभागबाट जानकारी प्राप्त भइसकेको बताउनुभयो । उहाँका अनुसार रसुवागढीनाका बन्द भएपछि कोरला नाकातर्फ मालवस्तु पैठारीका लागि दैनिक ५० भन्दा बढी कन्टेनर यसतर्फ आइरहेका छन् ।
