भण्डारा, चितवन, साउन १८ — भण्डारा अस्पतालको स्वास्थ्य सेवा सुधार तथा एम्बुलेन्स सेवा तत्काल सञ्चालनमा ल्याउन माग गर्दै राप्ती नगरपालिकालाई ७ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाइएको छ।
ज्ञापनपत्रमा नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने हक सुनिश्चित गरेको उल्लेख गर्दै स्थानीय सरकारले नागरिकलाई गुणस्तरीय, सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने दायित्व रहेको स्मरण गराइएको छ।
ज्ञापनपत्रमा भण्डारा अस्पतालको एम्बुलेन्स सेवा प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा स्थानीयवासीले विशेषगरी आपत्कालीन अवस्थामा समस्या भोग्नुपरेको उल्लेख गरिएको छ। साथै अस्पतालका केही आधारभूत स्वास्थ्य सेवामा देखिएका कमजोरी तत्काल सुधार गर्न माग गरिएको छ।
ज्ञापनपत्रमार्फत एम्बुलेन्स सेवा तत्काल सञ्चालनमा ल्याउने, भविष्यमा सेवा अवरुद्ध नहुने गरी दिगो व्यवस्थापन योजना लागू गर्ने, चालक, इन्धन, मर्मत तथा सञ्चालन बजेटको स्थायी व्यवस्था गर्ने तथा २४सै घण्टा आपत्कालीन एम्बुलेन्स सेवा सुनिश्चित गर्न माग गरिएको छ।
त्यसैगरी अस्पतालमा आवश्यक औषधिको नियमित उपलब्धता, विशेषज्ञ चिकित्सक तथा आवश्यक स्वास्थ्यकर्मीको दरबन्दीअनुसार पदपूर्ति, २४ घण्टा आकस्मिक (इमर्जेन्सी) सेवा प्रभावकारी सञ्चालन, गर्भवती महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विपन्न नागरिकका लागि सहज स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने माग पनि समेटिएको छ।
ज्ञापनपत्रमा गुनासो दर्ता तथा समाधानका लागि प्रभावकारी हेल्प डेस्क वा गुनासो कक्ष स्थापना गर्न, अस्पताल व्यवस्थापन समितिले स्थानीय नागरिकसँग नियमित सार्वजनिक सुनुवाइ आयोजना गर्न तथा उल्लिखित सबै माग कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना सार्वजनिक गर्न पनि आग्रह गरिएको छ।
ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार, उक्त मागहरू प्राप्त भएको मितिले सात दिनभित्र आवश्यक निर्णय, कार्ययोजना वा प्रगति विवरण सार्वजनिक गर्न अनुरोध गरिएको छ। तोकिएको अवधिभित्र उचित पहल वा आधिकारिक प्रतिक्रिया प्राप्त नभए संविधान र प्रचलित कानुनले प्रदान गरेको अधिकार प्रयोग गर्दै शान्तिपूर्ण तथा कानुनसम्मत नागरिक आन्दोलनका थप कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी पनि ज्ञापनपत्रमा दिइएको छ।

