विश्वकप फुटबलमा आयोजक अमेरिकाको विजयी शुरुआत : पाराग्वे ४–१ गोलले पराजित
फिफा विश्वकप फुटबलमा आयोजक अमेरिकाले विजयी शुरुआत गरेको छ । लस एन्जलस स्टेडियममा आज बिहान भएको खेलमा घरेलु टोलीले पाराग्वेलाई ४–१ गोलले हराएको हो । खेलको पहिलो हाफमै अमेरिकाले ३ गोल गर्यो । खेलको ७ औँ मिनेटमा पाराग्वेका डेमियन बोबाडिल्लाको उपहार गोलबाट अमेरिकाले अग्रता लिएको थियो ।
त्यसपछि ३१औं मिनेटमा फोलारिन बालोगुनले गोल थपे । पहिलो हाफको इन्जुरी समयमा फोलारिनले नै व्यक्तिगत दोस्रो गोल गर्दे अमेरिकाको अग्रतालाई तेब्बर बनाए । खेलको अन्तिम मिनेटमा अमेरिकाका जियोभन्नी रियानले गोल थपे ।
पाराग्वेका लागि मौरिसियोले ७३ औँ मिनेटमा एक गोल फर्काए । घरेलु भूमिमा ३२ वर्षपछि विश्वकपको पहिलो खेल खेलेको अमेरिकाले विजयी शुरुआत गरेको हो ।
विश्वकप फुटबलमा आज मध्यराति पौने १ बजे कतार र स्वीजरल्याण्ड, पौने ४ बजे ब्राजिल र मोरक्को तथा भोलि बिहान पौने ७ बजे हाइटी र स्कटल्याण्डले खेल्दैछन् । विश्वकप फुटबलमा आज बिहान भएको खेलमा सहआयोजक क्यानडाले बोस्निया एन्ड हर्जगोभिनासँग एक/एक गोलको बराबरी खेलेको छ ।















