राप्ती, चितवन । सामाजिक संस्था थ्री एन्जल नेपालले राप्ती नगरपालिका वडा नं. १, २ र ३ का बिपन्न परिवारका तथा बुद्ध शान्ति माध्यमिक विद्यालय को छात्रावासमा अध्ययनरत विद्यार्थीहरूलाई खाद्यान्न सहयोग प्रदान गरेको छ।
आज विद्यालय परिसरमा आयोजित एक कार्यक्रमका बीच थ्री एन्जल नेपाल राप्तीकी इन्चार्ज सुनिता सिल्वालले करिब ५० हजार रुपैयाँ बराबरको खाद्यान्न विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो।
महिला तथा बालबालिकाको क्षेत्रमा लामो समयदेखि क्रियाशील थ्री एन्जल नेपालले हिंसामा परेका महिला तथा अनाथ बालबालिकाको संरक्षण, सहयोग तथा अभिभावकत्व निर्वाह गर्दै आइरहेको छ।
खाद्यान्न हस्तान्तरण कार्यक्रममा बोल्दै इन्चार्ज सिल्वालले छात्रावासमा बसेर अध्ययन गरिरहेका विद्यार्थीहरूलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा पनि संस्थाको साथ र सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा विद्यालयका प्राचार्य नवराज अधिकारीले छात्रावासमा अध्ययनरत विद्यार्थीहरू खाद्यान्न अभावको समस्याबाट प्रभावित रहेको उल्लेख गर्दै उक्त समस्या समाधानमा सहयोग पुर्याएकोमा थ्री एन्जल नेपालप्रति आभार व्यक्त गर्नुभयो।
त्यसैगरी विद्यालयका शिक्षक विश्वराम सेढाइ ले संस्थाले गरेको मानवीय सहयोगको प्रशंसा गर्दै थ्री एन्जल नेपाल र इन्चार्ज सिल्वाललाई धन्यवाद दिनुभयो।
छात्रावासमा अध्ययनरत २६ जना विद्यार्थीहरूले समेत सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै थ्री एन्जल नेपाललाई धन्यवाद दिएका थिए।















