चितवन/लुम्बिनी — दुर्लभ वन्यजन्तुको बासस्थल एकै क्षेत्रमा मात्रै सीमित हुनु संरक्षणका दृष्टिले जोखिमपूर्ण मानिन्छ । महामारी, प्राकृतिक प्रकोप वा मानवीय अतिक्रमणले सिंगो प्रजाति नै सखाप हुन सक्ने खतरा टार्न वन्यजन्तुलाई धेरै ठाउँमा फैलाउनु बुद्धिमानी हुन्छ । यही रणनीतिअनुरूप, कुनै एक बासस्थलमा संख्या धेरै भएका जीवजन्तुलाई उस्तै अनुकूल वातावरण भएको अर्को क्षेत्रमा लगेर राख्ने (स्थानान्तरण गर्ने) चलन नेपालमा चार दशकअघि नै सुरु भएको थियो ।
चितवन निकुञ्ज कार्यालयका अनुसार, सन् १९८६ देखि २०२३ सम्म चितवनबाट बर्दिया, शुक्लाफाँटा र कोशी टप्पु गरी कुल १०४ गैंडा स्थानान्तरण भइसकेको छ । चितवन निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार, सबैभन्दा धेरै सन् १९८६ देखि २०१७ सम्म ९ पटक गरी कुल ९१ वटा गैंडा बर्दिया गएका थिए । सन् २००० देखि २०१८ सम्म तीन पटकमा ११ गैंडा शुक्लाफाँटा गए ।
कोशी टप्पुमा सन् २०२३ मा पहिलो पटक दुई पोथी गैंडा चितवनबाट लगिएको थियो । उद्धार गरी मान्छेको रेखदेखमा हुर्केका ती दुई गैंडा कोशीमा ठूलो खोरमा बस्छन् । स्थानान्तरण गरिएका ती दुवै गैंडाको हुर्काइ–बढाइ जसरी र जुन वातावरणमा हुनुपर्ने थियो, त्यो भएन । त्यस्तै बर्दिया र शुक्लाफाँटामा पनि भाले र पोथी मिलाएर स्थानान्तरण त गरियो, तर संख्या बढेन ।

चितवनले कोशीबाट ल्याएको अर्ना जोगाउनै सकेन । बाह्रसिंगाको हालत पनि लगभग उस्तै भयो ।पछिल्लो गैंडा गणनाको नतिजाले स्थानान्तरणको प्रतिफल सन्तोषजनक देखाएन । २०७७ चैत अन्तिममा सार्वजनिक भएको गैंडा गणनाको नतिजाअनुसार, देशैभर ७ सय ५२ गैंडा हुँदा चितवनमा ६ सय ९४ थिए । बर्दियामा ३८ र शुक्लामा १७ वटा भेटिए । यी निकुञ्जबाहेक चितवनसँग जोडिएको पर्सा राष्ट्रिय निकुञ्जमा तीनवटा गैंडा भेटिएका थिए । ९१ गैंडा चितवनबाट लगिएको बर्दियामा जम्मा ३८ पाइए । शुक्लामा सामान्य सुधार देखियो ।
चितवनबाट गैंडा बर्दिया, शुक्ला र कोशी पुगेजस्तै चितवनमा पनि बाहिरबाट वन्यजन्तु ल्याइएका छन् । कोशी टप्पुबाट ल्याइएको अर्ना र शुक्लाबाट ल्याइएको बाह्रसिंगाको अवस्था झनै दुःखद् छ । चितवनले कोशीबाट ल्याएको अर्ना जोगाउनै सकेन । बाह्रसिंगाको हालत पनि लगभग उस्तै भयो । अर्ना र बाह्रसिंगालाई निकुञ्जभित्र ठूलो क्षेत्रमा तारबार गरी राखिएको थियो ।
चितवन निकुञ्ज सिमानाभित्र परेका कारण पदमपुरको बस्ती नै बाहिर सारिएको छ । बस्ती सारेपछि खाली भएको जमिनमध्ये ३० हेक्टरमा तारबार गरी तयार पारिएको ‘इनक्लोजर’ मा २०७३ माघमा कोशीबाट अर्ना ल्याएर राख्न सुरु भएको थियो । कोशीबाट १२ र जावलाखेलमा रहेको सदर चिडियाखानाका तीन गरी कुल १५ अर्ना त्यहाँ राखिएको थियो । अर्नाले बच्चा जन्माउन थालिसकेको थियो ।
बच्चा जन्मिन सुरु भएकाले संरक्षणकर्मीमा उत्साह त छाएको थियो, तर त्यो लामो समय कायम रहन सकेन । ‘इनक्लोजर’ भित्र बाढी पस्यो, बाघ र अजिंगर पनि छिर्यो । २०७४ साउनमा आएको बाढीले डुबाएर दुई अर्ना मरे । चिडियाखानाबाट ल्याएका तीन अर्ना त्यसअघि नै मरिसकेका थिए । बाढीपछि अर्नाहरू बिरामी परे । बाढी, बाघ र अजिंगरले ‘इन्क्लोजर’ का अर्ना सखाप भए ।
अर्नाको बच्चा र माउलाई बाघले मार्यो । एउटा बच्चालाई अजिंगरले खायो । अन्तिममा बचेका तीनवटा अर्नालाई ‘इनक्लोजर’ मा छिरेको बाघले मारेपछि चितवन पुगेका सबै अर्ना २०७९ साउनमा सकिए ।‘स्थानान्तरणले अर्नालाई राम्रो भएको त त्यहाँ पुगेका अर्नाले सातवटा बच्चा जन्माएको कुराले नै पुष्टि गर्छ । तर, केही प्राकृतिक र अन्य व्यवस्थापकीय कारण अर्ना नबचेका हुन्,’ अर्ना ल्याउने समय चितवन राष्ट्रिय निकुञ्ज प्रमुख रहेका हाल वन मन्त्रालयका सहसचिव रामचन्द्र कँडेल भन्छन् ।
बाढी पसेर समस्या निम्तिनु प्राकृतिक कारण थियो । तर, अर्नाको संख्या तत्कालै २५ वटा पुर्याएर प्राकृतिक बासस्थलमै छाड्ने, सधैं ‘इनक्लोजर’मा मात्रै नराख्ने भन्ने योजना समयमै पूरा नहुँदा संकट थपिएको कँडेलको तर्क छ । ‘बाढी पसेपछि पनि निगरानी बढाइएको भए र आहारमा राम्रो ध्यान दिइएको भए अर्ना बिरामी र कमजोर हुने थिएन,’ उनी भन्छन्, ‘प्राकृतिक वातावरणमा छाड्न पाएको भए एउटा प्रयोग पनि हुन्थ्यो । १५ वटा लगियो । २५ पुगेनन्, २५ नपुगी नछाड्ने भन्दाभन्दै संकटमाथि संकट आएको हो ।’
अर्नाको बच्चा र माउलाई पनि बाघले मारेको थियो । एउटा बच्चालाई अजिंगरले खाएको थियो । अन्तिममा बचेका तीनवटा अर्नालाई ‘इनक्लोजर’ मा छिरेको बाघले मारेपछि चितवन पुगेका सबै अर्ना २०७९ साउनमा सकिएका थिए ।
अर्ना स्थानान्तरणको विषय महालेखा परीक्षकको प्रतिवेदनमा पनि उल्लेख छ । महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनमा ‘अध्ययन अनुसन्धानका आधारमा मात्रै अर्ना स्थानान्तरणलाई व्यवस्थित र दिगो तुल्याउन सम्बन्धित क्षेत्रले ध्यान दिनुपर्ने’ भनी सचेत गराइएको थियो । दुर्लभ हुँदै गएको अर्ना स्थानान्तरण व्यवस्थित हुन नसकेको महालेखा परीक्षकको त्यो टिप्पणीले पनि देखाउँछ । अर्नासँगै बाह्रसिंगा पनि चितवन ल्याइएर पदमपुरको ‘इनक्लोजर’ मा राखिएको थियो ।


कोशीबाट चितवन ल्याइएका अर्ना । पछि सबै अर्ना मरे । फाइल तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर
चितवनमा शुक्लाफाँटाबाट सातवटा बाह्रसिंगा ल्याइएको थियो । दुईवटा बाह्रसिंगा ल्याउनेबित्तिकै मरेका थिए । त्यसैगरी २०७४ साउनमा आएको बाढीले थप बाह्रसिंगा मरेका थिए । त्यो बाढीमा सबै बाह्रसिंगा मरेको ठानिए पनि एक वर्षअघि जेठमा एउटा बाह्रसिंगा कुमरोज वनमा देखापरेको थियो ।
कुनै जनावर ल्याएर स्थानान्तरण गर्ने हो भने प्राकृतिक बासस्थलमै छाड्नुपर्छ । – कमलजंग कुँवर, चितवन निकुञ्जका पूर्वप्रमुखस्थानान्तरणसँग जोडिएका यस्ता असरले कृष्णसार स्थानान्तरणमा संवेदनशील हुनुपर्ने आवाज उठेको छ । ‘म त कुनै जनावर ल्याएर इनक्लोजरमा लामो समय राख्ने र जु (चिडियाखाना) जस्तै गरी पर्यटकका लागि पनि देखाउने कुराको विरोधी हुँ । स्थानान्तरण गर्ने हो भने प्राकृतिक बासस्थलमा छाड्नुपर्छ । नयाँ वातावरणमा अभ्यस्त नहुने बेलासम्मका लागि मात्रै हो इनक्लोजरमा राख्ने,’ चितवन निकुञ्जका पूर्वप्रमुख कमलजंग कुँवर भन्छन् । उनी ‘गैंडालाई चार वर्ष’ पुस्तकका लेखक पनि हुन् ।

जंगली जनावरका लागि राम्रो बासस्थल र सुरक्षा नै प्रमुख विषय हुने कुँवर बताउँछन् । बर्दियामा सुरक्षा र बासस्थलका कारण नै चितवनबाट लगिएकाभन्दा कम गैंडा भएको उनले बताए । ‘बासस्थल राम्रो भयो भने गैंडा स्वस्थ हुन्छ । प्रजनन गर्छन् । अनि गैंडा बढेमा सुरक्षा प्रबन्ध राम्रो भए चोरी सिकार हुँदैन । विगतमा बर्दियामा सुरक्षाको अभाव रह्यो,’ कुँवरले भने । त्यहाँको बासस्थल पनि राम्रो नभएको उनले बताए ।
गैंडाका लागि घाँसे मैदान र आहाल खेल्न घोल प्रशस्तै हुनुपर्ने उनले बताए । चितवनमा यस्तो वातावरण छ । बर्दियामा ठूलो नदी कर्णाली र मध्यमस्तरको बबई भए पनि साना–ठूला घोलको अभाव रहेको कुँवरको भनाइ छ । त्यसैले बासस्थल सुधारमा ध्यान दिएर अनि सुरक्षा बढाएर गैंडा स्थानान्तरण गरे प्रभावकारी नतिजा आउने उनको बुझाइ छ । उनले शुक्लाफाँटा, बर्दिया वा बाँके निकुञ्जभित्र मात्रै नभएर निकुञ्ज–आडका साुमदायिक वनलाई पनि बासस्थलका रूपमा विकास गर्नुपर्ने सुझाव दिएका छन् ।

चितवनबाट बर्दिया लैजाने क्रममा बेहोस बनाएको गैंडा ।फाइल तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर


बर्दिया निकुञ्जमा स्थानान्तरण गरिएका गैंडाको खास चुनौती हो– बासस्थान । चार दशकअघि पहिलो पटक चितवन निकुञ्जबाट १३ वटा एकसिंगे गैंडा बर्दिया स्थानान्तरण गरिएको थियो । चितवन निकुञ्जबाट २०४३ सालयता पटकपटक गरी बर्दियामा ८८ वटा गैंडा स्थानान्तरण गरिएको छ । यसरी बर्दिया ल्याइएकामध्ये ४७ भाले र ४१ पोथी थिए । स्थानान्तरण गरिएपछि गैंडाको संख्या वृद्धि हुनुको साटो झन् घट्दै गएको छ ।
बर्दिया निकुञ्जका अनुसार, सुरुका १३ गैंडा कर्णाली नदी तटीय क्षेत्रमा छाडिएको थियो । त्यसपछि २०४४ माघदेखि २०७२ सम्म ल्याइएका ७५ गैंडा बबई उपत्यकामा छाडिएको थियो । पछिल्लो पटक २०७२ मा ५ गैंडा स्थानान्तरण गरिएको थियो । तर, यसरी स्थानान्तरण गरिएका धेरै गैंडा बाँच्न नसकेको बर्दिया निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रमेश थापा बताउँछन् । ‘समस्याग्रस्त, अप्ठ्यारो खालका र टुहुरा गैंडा ल्याइएको थियो,’ उनी भन्छन्, ‘त्यसकारण सुरुका १५/१६ गैंडाको त ल्याउनासाथ प्राकृतिक मृत्यु नै भएको थियो ।’
गैंडालाई चाहिने प्राकृतिक बासस्थान नहुँदा समस्या उत्पन्न भएको हो । – अजित तुम्बाहाम्फे, राष्ट्रिय प्रकृति संरक्षण कोष कार्यक्रम बर्दियाका प्रमुखत्यसपछि स्थानान्तरण गरिएका अधिकांश गैंडा सशस्त्र द्वन्द्वका क्रममा संकटकालका बेला मारिएका थिए । निकुञ्ज सुरक्षार्थ तैनाथ सेना पोस्ट हट्दै गएपछि चोरी सिकार बढेको थापाले बताए । त्यसैले २०६५ सालतिर त्यहाँ गैंडा थिएन । त्यसपछि पछिल्लो पटक २०७२ मा तीन पोथी र दुईवटा भाले गैंडा ल्याएर त्यहाँ छाडिएको थियो । बबई उपत्यकामा अहिले पाँचवटा गैंडा मात्रै छन् ।
बबई उपत्यकामा २०७२ मा छाडिएका वयस्क एक जोडी भाले/पोथीको प्राकृतिक मृत्यु भए पनि बचेका गैंडाले प्रजनन गर्दा अहिले पाँचवटा पुगेका हुन् । अहिले बबईमा सुरक्षा पोस्ट थपिएका छन् । गैंडाका लागि आहारा, बासस्थान, घोल र पानीको कृत्रिम व्यवस्था गरिएकाले अब राम्रो ‘ह्याबिट्याट’ हुने बताइएको छ । एक अध्ययनले बबई उपत्यका क्षेत्रमा २५ देखि ५० वटा गैंडाले राम्रो आहारविहार गर्न सक्ने देखाएको छ ।
गैंडा स्थानान्तरण त गरियो, तर प्रजनन भएर संख्या वृद्धि हुन सकेन । स्थानान्तरण गरिएका गैंडा पनि सुरक्षित नभई झन् घटेपछि गैंडाका लागि बर्दिया निकुञ्ज उपयुक्त हो कि होइन ? यो बहस चलिरहेको छ ।
कर्णाली नदी तटीय क्षेत्रमा ढुंग्यान र बगर क्षेत्र बढी छ, त्यसैले गैंडालाई चाहिने प्राकृतिक बासस्थान नहुँदा समस्या उत्पन्न भएको राष्ट्रिय प्रकृति संरक्षण कोष कार्यक्रम बर्दिया प्रमुख अजित तुम्बाहाम्फेले बताए ।
२०४४ माघदेखि २०५९ चैतसम्म २५ भाले र ४५ पोथी गरी ७० गैंडा बबई उपत्यकामा मात्रै स्थानान्तरण गरिएयो । तर, २०६५ सालमा एउटा पनि गैंडा नरहेको पाइयो ।बबई उपत्यकामा पनि गैंडाको आहाल र धाप क्षेत्र नहुँदा समस्या भइरहेको छ । बबई उपत्यका क्षेत्र गैंडाका लागि उपयुक्त बासस्थान मानिए पनि त्यो चुरे तथा नदी तटीय क्षेत्र भएकाले साना–साना ढुंगा प्रशस्तै छन् । त्यसैले गैंडा हिँडडुलका लागि कठिनाइ छ ।
गैंडाले नेपालतिर उपयुक्त बासस्थान नपाउँदा निकुञ्जको सीमावर्ती भारतीय भूभागमा पनि नेपाली गैंडा जाने गरेका छन् । कतिपय फर्किन्छन् भने अधिकांश उतै बस्छन् । सन् २०२२ मा गणना हुँदा निकुञ्जमा ३८ गैंडा पाइएको बर्दिया निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेल बताउँछन् । अहिले यसैलाई आधिकारिक डेटा मानिएको छ । कर्णाली नदी तटीय क्षेत्रतिर ३३ र बबईतिर पाँच गैंडा छन् । सन् २००५ को गणनामा बर्दियामा गैंडाको संख्या ६७ थियो । २००८ मा आइपुग्दा संख्या २२ मा झर्यो । २०१५ को गणनामा २९ गैंडा पुग्यो । हरेक ४/४ वर्षमा गैंडा गणना हुने गरेकामा यस वर्ष नहुने भएको छ ।
गैंडाका लागि चाहिने घाँसे मैदानलगायत प्राकृतिक बासस्थान उपयुक्त नभएकै कारण बर्दियामा गैंडाको संख्या वृद्धि हुन नसकेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.अशोक रामले बताए । गैंडालाई नदी तटीय क्षेत्रमा आहालका लागि घोल तथा चरिचरनका लागि काँसलगायत उपयुक्त घाँस आवश्यक पर्छ । तर, बर्दियामा गैंडाको आहाललाई उपयुक्त घोल तथा घाँस कम हुँदा समस्या भइरहेको छ ।
२०४४ माघदेखि २०५९ चैतसम्म २५ भाले र ४५ पोथी गरी ७० गैंडा बबई उपत्यकामा मात्रै स्थानान्तरण गरिएको थियो । तर, २०६५ सालमा बबई उपत्यकामा एउटा पनि गैंडा नरहेको पाइयो । तत्कालीन वन तथा भूसंरक्षण मन्त्रालयले छानबिन गर्दा २०६५ चैत ५ मा दिएको प्रतिवेदनमा बबई क्षेत्रसहित बर्दियामा स्थानान्तरण गरिएका ८३ गैंडामध्ये चोरी सिकारीबाट ३६ वटा मारिएका र प्राकृतिक कारणले २४ गैंडाको मृत्यु भएको उल्लेख छ ।
















