नेपालमा झन्डै साढे ६२ लाख वटा गाडी दर्ता
काठमाण्डाै – देशभर दर्ता भएका गाडीकाे सङ्ख्या ६२ लाख माथि रहेको पाइएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार चालू आर्थिक वर्ष फागुन मसान्तसम्म कुल गाडीको सङ्ख्या ६२ लाख ४९ हजार ७३२ पुगेको छ ।
चालू आर्थिक वर्षकाे फागुन मसान्तसम्म मात्रै २ लाख ८१ हजार ९२१ वटा दर्ता भएका थिए । दर्ता भएका गाडीमध्ये ५० लाखभन्दा धेरै मोटरसाइकल छन् ।
यसैगरी फागुन मसान्तसम्म ४१ लाख १४ हजार १८१ वटा सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) जारी भएको छ । त्यसमध्ये चालू आर्थिक वर्षकाे ८ महिनासम्म ४३ हजार ७५० थान सवारी चालक अनुमतिपत्र जारी भएको थियो ।
चालू आर्थिक वर्षको पहिलाे ८ महिनामा ८७ हजार १४ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएका छन् । तीमध्ये ५ हजार १८६ थान जडान भएका छन् ।
गएकाे फागुन मसान्तसम्म ८ लाख ३१ हजार ५९ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएकामा ८८ हजार ३४० थान जडान भएका छन् । इम्बोस्ड सवारी नम्बर प्लेट जडानसम्बन्धी निर्देशिका २०८१ अनुसार नम्बर प्लेट जडान भइरहेको छ ।
