काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीको आसन्न महाधिवेशनबाट रवि लामिछाने नै सभापति बन्ने पूर्वघोषणा गरेका छन् । अन्य पदहरुमा कोको जाने भनेर छलफल भइनसकेको उनले बताए ।
रास्वपाको पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुँदैछ । असार ७ रास्वपाको स्थापना दिवस पनि हो । बुर्लाकोटीका अनुसार महाधिवेशनको तयारी अहिले द्रुत गतिमा भइरहेको छ ।
पहिलो महाधिवेशनका लागि चितवन नै किन रोजियो भन्ने सञ्चारकर्मीको जिज्ञासामा बुर्लाकोटीले यो जिल्ला पार्टीको इपिसेन्टर र देशकै भौगोलिक केन्द्रविन्दु भएको जवाफ दिए ।
उनले भने, ‘चितवन भनेको सबैतिरको मध्यभागजस्तो हो । पार्टीको इपिसेन्टरको रुपमा पनि रहेको छ । यहाँबाट पार्टीर्लाइ धेरै मत आएको छ । सभापतिले चुनाव जित्नुभएको हिसाबले पनि चितवन नै उपयुक्त ठानियो ।’
उनले महाधिवेशनको पूर्वतयारी भइरहेको र उपसमितिहरु बनाउने चटारो रहेको उल्लेख गरे ।
पार्टी सभापतिमा रवि लामिछाने नै दोहोरिने सम्भावना कति छ ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘यसमा कुनै शंका छैन । रवि लामिछाने नै सभापति बन्नुहुने हो ।’
उहाँको विकल्प नै छैन त भन्ने प्रश्नमा बुर्लाकोटी भन्छन्, ‘विकल्प त नहुने होइन, पार्टीमा धेरै नेताहरू हुनुहुन्छ । तर, यदि पार्टी एक ढिक्का छ भने यसले देशलाई निकास दिनसक्छ । नेताहरु कोको हुने भनेर हानाथाप गर्नेभन्दा पनि निकास दिने कुरा महत्वपूर्ण हो ।’
प्रधानमन्त्री बालेन्द्र शाह रास्वपाको कुन पदमा उठ्नुहुन्छ भन्ने प्रश्नमा उनले नेताहरूको पदबारे छलफल नभएको बताए ।















