काठमाडौं – विश्वका विभिन्न मुलुकमा देखिएको हान्टाभाइरसको संक्रमणलाई लिएर नेपालमा पनि चासो र चिन्ता व्यक्त भइरहेको छ। स्वास्थ्य मन्त्रालयले हालसम्म नेपालमा उक्त भाइरसको संक्रमण पुष्टि भइनसकेकाले त्रास र भयरहित अवस्थामा बस्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
हान्टा सार्न सक्ने ‘एन्डिज भाइरस’ भएका मुसा नेपालमा नपाइएकोले यसको त्रासबाट मुक्त हुन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको हो। हान्टा एक प्रकारको दुर्लभ भाइरस भएको र यो मुसाबाट मानिसमा सर्ने सरुवा रोग विशेषज्ञहरू बताउँछन्। मुसाको दिसा, पिसाब तथा र्यालबाट यो मानिसमा सर्ने गर्छ। नेपालमा यसको संक्रमण हुनसक्ने अवस्था न्यून भए पनि सावधानी अपनाउन भने आवश्यक रहेको विज्ञहरूको भनाइ छ।
भारतमा देखिएकाले सतर्कता अपनाउन डा. पुनको सुझाव
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार हालसम्म नेपालमा हान्टाभाइरसको संक्रमण पुष्टि भइसकेको छैन, तर भयरहित वातावरणमा सावधानी अपनाउन उनी सुझाव दिन्छन्।
नेपालमा हालसम्म केस पुष्टि नभए पनि हुनसक्ने प्रशस्त कारण भएकाले संक्रमणको जोखिम भने कायम नै रहेको डा. पुनको दाबी छ। हान्टाभाइरस अमेरिका र एसिया महादेशमा पाइने फरक–फरक प्रकृतिको हुने डा. पुन बताउँछन्।
छिमेकी मुलुक भारतमा पनि केही केसहरू देखिएकाले सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ। मुसाबाट हान्टाभाइरसबाहेक स्क्रब टाइफस जस्ता रोगहरू पनि देखिन सक्ने भएकाले सतर्कता अपनाउनु अत्यावश्यक रहेको उनको तर्क छ। मुसा धेरै आउन सक्ने स्थानहरूमा सावधानी अपनाउन सके हान्टाभाइरसको संक्रमणबाट जोगिन सकिन्छ।
त्यस्तै, फोहोरमैला बढी फालिने स्थानमा जाँदा यसबारे सतर्कता अपनाउन आवश्यक छ। विदेशबाट नेपाल आएका मानिसहरूमा यस भाइरससँग मिल्दाजुल्दा लक्षणहरू देखिएमा अन्य व्यक्तिहरू उनीहरूको सम्पर्कमा नजान तथा त्यस्ता व्यक्तिहरूलाई आइसोलेसनमा बस्न डा. पुन सुझाव दिन्छन्। त्यस्ता व्यक्तिलाई कहाँ परीक्षण गर्ने भन्नेबारे यकिन जानकारी सरकारी तवरबाट नै प्रदान गरिनुपर्नेमा उनले जोड दिएका छन्।
हान्टाभाइरस के हो?
हान्टाभाइरस मुसा र अन्य कुतर्ने जनावरहरूबाट मानिसमा सर्ने एक दुर्लभ तर अत्यन्तै घातक भाइरस हो। यो भाइरस संक्रमित मुसाको मलमूत्र, पिसाब वा र्यालबाट दूषित हावा वा वस्तुको सम्पर्कमा आउँदा मानिसमा सर्ने गर्दछ।
यो कत्तिको घातक छ?
यस भाइरसको मृत्युदर निकै उच्च अर्थात् ३० देखि ४० प्रतिशतसम्म (कहिलेकाहीँ ५० प्रतिशतसम्म) हुन सक्छ।
नेपालमा जोखिम
हालसम्म नेपालमा हान्टाभाइरसको संक्रमण पुष्टि भएको छैन। तर, सरसफाइ र सावधानीमा ध्यान दिन स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ।
लक्षणहरू
ज्वरो आउनु, अत्यधिक थकान, मांसपेशी दुख्नु, पेट दुख्नु, बान्ता हुनु र पखाला लाग्नु यसका सुरुवाती लक्षण हुन्। पछि गम्भीर श्वासप्रश्वास समस्या (फोक्सोमा पानी जम्ने) वा मिर्गौला फेल हुने अवस्था आउन सक्छ।
उपचार
यसको विरुद्ध कुनै विशेष खोप वा औषधि छैन, तर प्रारम्भिक अवस्थामै अस्पताल भर्ना भएर अक्सिजन सपोर्ट वा आईसीयू सेवा पाएमा ज्यान जोगाउन सकिन्छ।
हान्टाभाइरसबाट जोगिन के गर्ने?
हान्टाभाइरसबाट बच्ने मुख्य उपाय भनेको मुसाको सम्पर्कबाट जोगिनु र वरिपरिको वातावरण सफा राख्नु हो।
मुसा नियन्त्रण: घर, कार्यालय वा गोदाममा मुसाको प्रवेश रोक्ने र मुसा छिर्ने प्वालहरू टाल्ने।
सफाइमा सतर्कता: मुसाको दिसा वा पिसाब देखिएको ठाउँ सफा गर्दा अनिवार्य रूपमा मास्क र पञ्जा प्रयोग गर्ने। सुक्खा सफाइ नगर्ने; पहिला कीटाणुनाशक औषधि वा चिसो पानीले भिजाएर मात्र सफा गर्ने।
खाद्य सुरक्षा: खानेकुराहरू मुसाले नभेट्ने गरी बन्द भाँडोमा राख्ने।
व्यक्तिगत सरसफाइ: नियमित रूपमा साबुनपानीले हात धुने।
अनावश्यक भीडभाडबाट बच्ने: मुसाको बढी चहलपहल हुने ठाउँ (जस्तै: बन्द कोठा, गोदाम) मा काम गर्दा सावधानी अपनाउने।
चिकित्सकको परामर्श: अचानक तीव्र ज्वरो, श्वास फेर्न गाह्रो वा पेट दुख्ने लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्ने।















