हेटौंडा । बागमती प्रदेशमा नेपाली कम्युष्टि पार्टी (नेकपा) बाट कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रीमा नियुक्त रमा आलेमगरले पद तथा गोपनीयताको शपथ लिएकी छन् । शुक्रवार अपरान्ह प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा उनलाई कृषि , पशुपन्छी , वन तथा वातावरण मन्त्रीको शपथ गराएका हुन् ।
मुख्यमन्त्री किरण थापा मगरले आलेले शुक्रवार मन्त्री नियुक्त गरेका थिए । चन्द्रागिरी नगरपालिकाकी रमा काठमाडौं क्षेत्र नम्बर १० (२) बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् ।
उनी शालिकराम जमकट्टेल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री थिइन् । बागमती सरकारमा नेकपाको भागमा परेको दुई वटा मन्त्रालयमध्ये नेकपा माओवादी केन्द्र पृष्ठभूमिका सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री बनेपछि अर्काे मन्त्रालय तत्कालीन नेकपा (एकीकृत समाजवादी) अर्थात् माधव नेपाल पक्षले पाएको थियो । जसअनुसार मगरलाई नेकपाभित्रको पूर्वसहमतिअनुसार मन्त्रीमा सपथ गराएको हो ।
नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संयुक्त बागमती सरकारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहेक ७ वटा मन्त्रालय रहेको छ । यसअघि ४ भदौमा ६ जना मन्त्री नियुक्त गरिएको थियो ।
जसमा आन्तरिक मामिला, कानुन तथा सहकारी र कृषि मन्त्रालय रिक्त थियो । एमालेका ज्ञानबहादुर तामाङलाई विना विभागीय मन्त्री नियुक्त गरिएको थियो ।
सरकारमा भागबण्डाअनुसार एमालेले मुख्यमन्त्रीसहित ३ वटा, नेकपालाई प्रदेशसभाको सभामुखसहित ३ वटा र राप्रपाले ३ वटा मन्त्रालय लिएका हुन् ।
सरकारमा नेकपाबाट सरल सहयात्री आर्थिक मामिला, एमालेबाट भरत केसी भौतिक पूर्वाधार, राप्रपाबाट गिरबहादुर तामाङ स्वास्थ्य तथा सामाजिक, राजु विष्ट खानेपानी, ऊर्जा तथा सिँचाइ , राजेन्द्र प्रजापति उद्योग, पर्यटन, श्रम तथा यातायात र ज्ञान बहादुर तामाङ विना विभागीय मन्त्री छन् ।
आन्तरिक मामिला , कानुन तथा सहकारी मन्त्रालय रिक्त रहेपनि मुख्यमन्त्री थापाले विना विभागीय मन्त्री तामाङलाई भने हाल सम्म कुनै जिम्मेवारी दिएको छैन ।
