काठमाडौँ । सरकारले पुँजीबजार सुधारका लागि ल्याएको पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाको लगानीकर्ताहरूले स्वागत गरेका छन् । पुँजीबजार लगानीकर्ताहरूले सरकारले सोमबार ल्याएको कार्ययोजना संरचनात्मक सुधार, लगानीकर्ता संरक्षण र दीर्घकालीन विकासका लागि महत्वपूर्ण नीतिगत पहल भएको प्रतिक्रिया दिएका हुन् ।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले सरकारले सार्वजनिक गरेको पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना स्वागतयोग्य रहेको बताए । उनले कार्ययोजना पुँजीबजारको संरचनात्मक सुधार, लगानीकर्ता संरक्षण र दीर्घकालीन विकासका लागि महत्वपूर्ण नीतिगत पहल भएको प्रतिक्रिया दिए ।
कार्ययोजनामा प्राथमिक सेयरमा प्राइस डिस्कभरी प्रणाली लागू गर्ने, मार्जिन लेन्डिङ तथा सर्ट सेलिङ कार्यान्वयन गर्ने विषय सकारात्मक भएको अध्यक्ष ढकालको भनाइ छ ।
अध्यक्ष ढकालले कर्पोरेट बोन्ड मार्केटको विकास गर्ने, गैरआवासीय नेपालीलाई दोस्रो बजारमा लगानीको अवसर प्रदान गर्ने र संस्थागत लगानीकर्ताको सहभागिता विस्तार गर्ने व्यवस्था सकारात्मक भएको बताए ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एन्ड क्लियरिङ लिमिटेड र धितोपत्र दलाल व्यवसायको आधुनिकीकरण गर्ने व्यवस्था समेटिनु सकारात्मक भएको उनले उल्लेख गरे । कार्ययोजनाले पुँजीबजारलाई थप पारदर्शी, प्रतिस्पर्धी र लगानीकर्तामैत्री बनाउन सहयोग पुग्ने तथा त्यसको प्रत्यक्ष प्रभाव आजदेखि नेप्सेमा देखिने अध्यक्ष ढकालको दाबी छ ।
उनले दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले ३६५ दिनभन्दा बढी अवधिसम्म धारण गरिएको धितोपत्रबाट प्राप्त पुँजीगत लाभमा ३.७५ प्रतिशत तथा ३६५ दिन वा सोभन्दा कम अवधिको लगानीमा ५ प्रतिशत पुँजीगत लाभकर कायम गर्ने व्यवस्था सकारात्मक भएको बताए ।
ढकालले भने, ‘सरकारले घोषणा गरेका सुधारहरू समयबद्ध र प्रभावकारी रूपमा कार्यान्वयन हुन आवश्यक छ । कार्यान्वयन भएमा पुँजीबजारप्रति लगानीकर्ताको विश्वास थप मजबुत हुन्छ । बजारमा तरलता वृद्धि हुने तथा आर्थिक विकासमा बजारको भूमिका अझ प्रभावकारी बन्ने देखिन्छ ।’
त्यस्तै, पुँजीबजार लगानीकर्ता अम्बिका प्रसाद पौडेलले पनि सरकारले पुँजीबजार सुधारका लागि ल्याएको कार्ययोजना स्वागतयोग्य रहेको बताए । उनले पुँजीबजारको सुधारका लागि गरेको प्रतिबद्धता सकारात्मक भएको भन्दै पुँजीबजार सुधार हुने धारणा राखे ।
उनले भने, ‘अर्थ मन्त्रालयबाट जारी पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना–२०८३ स्वागतयोग्य छ । कार्ययोजनाले पुँजीबजारको दीर्घकालीन विकास र विस्तारको कोशेढुंगा हुने छ । अर्थमन्त्रीलाई धन्यवाद ।’
उनले कार्ययोजना कार्यान्वयन भएमा पुँजीबजारको दीर्घकालीन विकास र विस्तारको कोशेढुंगा हुने विश्वास व्यक्त गरे ।
त्यस्तै, लगानीकर्ता संघका अध्यक्ष ताराप्रसाद फुलेलले सरकारले अघि सारेको २१ बुँदे पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाले नेपाली सेयर बजारमा दीर्घकालीन प्रभाव पार्ने विश्लेषण गरे । उनले कार्ययोजनाले वर्षौँदेखि अड्किएका नीतिगत तथा कानुनी गाँठो फुकाउँदै बजारलाई आधुनिक र लगानीमैत्री बनाउने विश्वास व्यक्त गरे ।
अध्यक्ष फुलेलले कार्ययोजनामा समावेश भएका विषयले बजारमा तत्कालै ठूलो प्रभाव पार्ने र दीर्घकालीन पुँजी बढाउन सबैभन्दा महत्वपूर्ण हुने बताए । उनले भने, ‘३६५ दिनभन्दा बढी होल्ड गर्दा ३.७५ प्रतिशत र सोभन्दा कममा ५ प्रतिशत मात्र लाभकर लाग्ने तथा नाफा–घाटाको वास्तविक हिसाब गरी खुद नाफामा मात्र कर लाग्ने व्यवस्थाले दीर्घकालीन लगानीकर्तालाई प्रोत्साहन मिल्ने र बजारमा स्थायी पुँजी बढ्नेछ । संस्थागत लगानीकर्तालाई प्राथमिक तथा दोस्रो बजारमा खुला गर्दा ठूलो पुँजी भित्रिने र बजारको उतारचढाव नियन्त्रण भई स्थायित्व कायम हुनेछ ।’
उनले सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष र बीमा कम्पनीहरूको बैंक निक्षेपमा केन्द्रित लगानी सेयर बजारमा आकर्षित हुँदा बजारमा अर्बौँको संस्थागत पुँजी थपिने देखिएको बताए ।बैंक तथा वित्तीय संस्थाले दोस्रो बजारमा लगानी गर्दा कम्तीमा ४५ दिन होल्ड गर्नुपर्ने व्यवस्थाले अल्पकालीन सट्टेबाजी नियन्त्रण भई लगानी प्रणालीगत र सुरक्षित हुने विश्वास लगानीकर्ताले लिएको बताए ।
इन्ट्रा–डे, सर्ट सेलिङ, धितोपत्र सापटी र ब्रोकरमार्फत मार्जिन लेन्डिङ सुरु भएपछि बजार घट्दा वा बढ्दा दुवै अवस्थामा तरलता र कारोबार बढ्ने उनको भनाइ छ ।
उनले भने, ‘उच्च मूल्य भएका कम्पनीको सेयर विभाजन (सेयर स्प्लिट) र कम्पनीले आफ्नै सेयर खरिद गर्न पाउँदा पुँजी व्यवस्थापन सहज हुने र लगानीकर्ताको हित संरक्षण हुने छ ।’
सोमबार अर्थ मन्त्रालयले सुस्ताएको अर्थतन्त्र र सेयर बजारलाई चलायमान बनाउन २१ बुँदे योजना सार्वजनिक गरेको थियो । अर्थतन्त्रमा आएको शिथिलता, मौसमी विपद् तथा बाढीपहिरोले पुर्याएको क्षति र पुँजीबजारमा परेको दबाबलाई सम्बोधन गर्न अर्थ मन्त्रालयले तत्कालीन सुधार र पुनरुत्थानका दूरगामी कार्यक्रमहरू ल्याएको देखिन्छ ।
कार्ययोजनामा लगानीकर्ताहरूले लामो समयदेखि उठाउँदै आएको पुँजीगत लाभकर कटौती, नोक्सानी (घाटा) समायोजन, इन्ट्रा–डे तथा सर्ट सेलिङ, एनआरएनको प्रवेश, सेयर स्प्लिट र बाइब्याकजस्ता विषयहरू समेटिएका छन् ।
मन्त्रालयले अघि सारेको यो कार्ययोजना नेपाली पुँजीबजारको इतिहासमै सबैभन्दा विस्तृत, आधुनिक र लगानीमैत्री सुधारको खाका बनेको छ । अब यो योजना कागजमै सीमित नभई तोकिएको समयसीमाभित्र नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सीडीएससीमार्फत कडाइका साथ कार्यान्वयन हुन आवश्यक रहेको लगानीकर्ताको भनाइ छ ।
मन्त्रालयले ल्याएको कार्ययोजनापछिको सेयर कारोबारमा पनि सकारात्मक प्रभाव देखिन थालेको छ । मंगलबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक ८६ अंक बढेको छ । सोमबार २५.५५ अंक बढेर २ हजार ५८५.०४ विन्दुमा बन्द भएको नेप्से मंगलबारको प्रि–ओपन सेसनमा ८६.०५ अंक बढेर २ हजार ८७१.०९ विन्दुमा पुगेको थियो । तर, प्रि–ओपनपछि पनि नेप्से परिसूचक सकारात्मक देखिएको छ ।
यो समाचार बनाउँदासम्म नेप्से परिसूचक ४६.१३ अंकले वृद्धि भएर २ हजार ६३१.१८ विन्दुमा पुगेको छ ।
