अमेरिकी सर्वोच्च अदालतले आउँदो नोभेम्बरको मध्यावधि चुनावअघि हुलाकबाट गरिने मतदानलाई सीमित पार्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनालाई अस्वीकार गरेको छ ।
न्यायाधीशहरूले संघीय न्यायाधीशको आदेशलाई सदर गरे, जसले अमेरिकी हुलाक सेवा (यूएसपीएस)लाई हुलाकबाट गरिने मतपत्रसम्बन्धी नयाँ नियमहरू लागू गर्नबाट अस्थायी रूपमा रोकेको छ । तर, यस विषयमा सर्वोच्च अदालतको अन्तिम निर्णय भने आइसकेको छैन ।
ट्रम्प प्रशासनको योजना अदालतले अस्वीकार गरेपछि लाखौँ मतदाताको हुलाकमार्फत मतदान गर्ने अधिकार तत्काल कायम रहने भएको बीबीसीले जनाएको छ । ९ सदस्यीय अदालतका ६ कन्जरभेटिभ न्यायाधीशमध्ये दुई जनाले निर्णयप्रति असहमति जनाउनुभएको थियो ।
न्यायाधीश ब्रेट काभानगले ट्रम्पको योजना भविष्यमा कानूनी हुन सक्ने भए पनि राज्य तथा स्थानीय निर्वाचन अधिकारीलाई चुनावअघि त्यसलाई कार्यान्वयन गर्न पर्याप्त समय नरहेको बताउनुभयो ।
ट्रम्पले गएको मार्चमा हुलाकबाट गरिने मतदानलाई सिमित पार्ने कार्यकारी आदेश जारी गर्नुभएको थियो । उहाँले कुनै ठोस प्रमाणबिना हुलाकमार्फत हुने मतदानमा धाँधलीको जोखिम रहेको दाबी गर्नुभएको थियो ।
