काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिगामी र स्वतन्त्रता विरोधी कदम लामो समय नटिक्ने घोषणा गरे । आइतबार एमाले पार्टी कार्यालयमा छापा माध्यमका पत्रकारको ज्ञापनपत्र बुझ्ने कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारप्रति सङ्केत गर्दै यस्तो बताएका हुन् ।
‘हाम्रो पार्टी स्वतन्त्रताका निम्ति लड्दै आएको हो । हाम्रो सङ्घर्ष कहिले धिमा गतिमा चलेको होला, एकछिन अधिनायकवादले रोकेको होला । अहिले फेरि रोक्ने कोसिस भइरहेको छ’, उनले भनेका थिए, ‘अबका प्रतिगामी, स्वतन्त्रता विरोधी र सङ्किर्णतावादी कदमहरू लामो समयका लागि हुनै सक्दैनन् ।’
कार्यक्रममा ओलीले राणा र शाही शासनको उदाहरण दिएका थिए । नेपालमा प्रजातन्त्र आएको ७६ वर्षमा कुनै पनि जननिर्वाचित सरकारले पूरा कार्यकाल काम गरेको इतिहास छैन । यहाँसम्म कि एकल बहुमतको सरकारसमेत पूर्ण कार्यकाल नटिकेका उदाहरण छन् । जननिर्वाचित प्रधानमन्त्रीहरू कुनै अपदस्थ भएका छन् भने कुनै जनविद्रोहबाट लखेटिएका छन् ।
२००७ सालमा जहानियाँ निरङ्कुश राणा शासनविरुद्ध जनक्रान्तिपछि प्रजातन्त्रको उदय भएको थियो । त्यसयता तत्कालीन राजाका निगाह, अन्तरिम र जननिर्वाचित गरी हालसम्म ५८ वटा सरकार बनिसकेको छ । प्रजातन्त्र स्थापनापछि पहिलोपटक २०१५ सालमा पहिलो आम निर्वाचन भएको थियो । त्यसपछि २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४, २०७९ र २०८२ सालमा संसदीय तथा संविधान सभा निर्वाचन भयो । यस रिपोर्टमा २०१५ देखि २०८२ सालसम्म आइपुग्दा भएका प्रमुख राजनीतिक अस्थिरताका घटना संक्षिप्तमा चर्चा गरेका छौँ ।
_NyYbkCyVOj.gif)
- बीपी कोइराला
२०१५ सालमा भएको पहिलो आम निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाइ सिट जितेको थियो । प्रतिनिधि सभाको १०९ सिटका लागि भएको निर्वाचनमा कांग्रेस एक्लैले ७७ सिट जितेको थियो । २०१६ साल जेठ १३ गते जननायक विश्वेश्वर प्रसाद कोइरालाको नेतृत्वमा सरकार गठन भयो । तर, कोइरालाले पूरा कार्यकाल शासन गर्न पाएनन् । २०१७ साल पुस १ गते राजा महेन्द्र वीरविक्रम शाहले संसद् विघटन गरी कोइराला सरकार अपदस्थ गरे । राजा महेन्द्रको ‘कु’ सँगै मुलुकले ३० वर्षे निरंकुश पञ्चायती शासन व्यहोर्यो ।
- गिरिजा प्रसाद कोइराला
२०४६ सालमा जनआन्दोलनको बलमा प्रजातन्त्र पुनर्बहाली भयो । २०४८ सालमा भएको निर्वाचनमा कांग्रेसले नै बहुमत ल्यायो । प्रतिनिधि सभाको २०५ सिटका लागि भएको निर्वाचनमा कांग्रेसले ११४ सिट जितेको थियो । त्यस निर्वाचनमा कांग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई पराजित भएकाले तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्न सफल भए । कोइराला २०४८ जेठ १२ गते पहिलो पटक प्रधानमन्त्री भएका थिए । तर, २०५१ सालमा सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गर्न पार्टीभित्रबाटै असहयोग भयो ।
सरकारको नीति तथा कार्यक्रम कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह समूहले असफल बनाएको थियो । सरकारलाई पार्टीबाटै असहयोग भएपछि आक्रोशित बनेका प्रधानमन्त्री कोइरालाले संसद् विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरे । कोइराला २०५१ साल मंसिर १४ गतेसम्म पहिलो कार्यकाल प्रधानमन्त्री भएका थिए ।
- कृष्णप्रसाद भट्टराई
देशभर माओवादी सशस्त्र विद्रोह फैलिएको बेला २०५६ सालमा आम निर्वाचन भएको थियो । गिरिजाप्रसाद कोइरालाले पार्टी नेतृत्व गरे पनि उनी अलोकप्रिय रहेका र पार्टीभित्र एकताको सन्देश दिन सन्त नेता कृष्णप्रसाद भट्टराईलाई भावी प्रधामन्त्रीका रूपमा अघि सारेर कांग्रेस निर्वाचनमा गएको थियो । चुनावमा सफलता पाएसँगै भट्टराई प्रधानमन्त्री बने । यद्यपि नौ महिना पूरा नहुँदै भट्टराईलाई हटाएर चैत ९ गते कोइराला नै प्रधानमन्त्री बने ।
एकातिर सत्तारुढ दल कांग्रेसभित्र किचलो र अर्कोतिर माओवादी सशस्त्र विद्रोहका कारण देशको राजनीति निकै तरल बन्दै गएको थियो । २०५८ सालमा रोल्पाको होलेरीमा माओवादी दमन गर्न सेना परिचालन गर्ने प्रधानमन्त्री कोइरालाको प्रस्ताव राजा ज्ञानेन्द्र शाहले अस्वीकार गरेपछि उनले साउन ११ गते राजीनामा दिएका थिए ।
- मनमोहन अधिकारी
२०५१ सालमा भएको मध्यावधि निर्वाचनमा नेकपा एमाले ८८ सिट जितेर पहिलो दल बन्न सफल भयो । संसदमा सबैभन्दा ठुलो दलको हैसियतले एमाले संसदीय दलका नेता मनमोहन अधिकारी पहिलो कम्युनिस्ट प्रधानमन्त्री बन्न सफल भए । अधिकारी २०५१ साल मंसिर १४ गते प्रधानमन्त्री बनेका थिए । नेपालको इतिहासमा सफल कम्युनिस्ट प्रधानमन्त्रीका रूपमा उनलाई आज पनि स्मरण गरिन्छ ।
२०५२ भदौ १२ मा सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्यो । प्रधानमन्त्री अधिकारीविरुद्ध प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदमा दर्ता गरेको अविश्वास प्रस्तावको सामना गर्नुपर्ने परिस्थिति बन्यो । अविश्वास प्रस्तावसम्बन्धी मतदान हुने समयमा अधिकारी हेलिकोप्टर दुर्घटनामा परेर घाइते भएका थिए । २०५२ साउन २९ मा भएको हेलिकोप्टर दुर्घटनामा घाइते भएकाले अधिकारीको उपचार शिक्षण अस्पताल महाराजगन्जमा भइरहेको थियो । प्रधानमन्त्री अधिकारी अस्पतालबाट डिस्चार्ज भएपछि संसदमा उठेका प्रश्नको जवाफ दिने अडानमा थिए । तर, प्रमुख प्रतिपक्ष दल कांग्रेसले नमानेपछि प्रधामन्त्री अधिकारीले अस्पतालको बेडबाटै राजीनामा घोषणा गरेका थिए ।
- शेरबहादुर देउवा
प्रधानमन्त्री मनमोहन अधिकारीले पदबाट राजीनामा दिएपछि प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा संसदमा तेस्रो ठुलो दल राप्रपाको समर्थनमा २०५२ भदौ २७ मा प्रधानमन्त्री बने । निर्वाचनमा ८३ सिट जितेको कांग्रेसले बहुमतका लागि २० सिट रहेको राप्रपासँग सहकार्य गरेको थियो ।
_OX8S3UEKsZ.jpg)
देउवा प्रधानमन्त्री भएसँगै संसदीय राजनीतिमा अनेकौँ विकृति र विसङ्गति भित्रिए । संसदीय राजनीति बदनाम हुन पुग्यो । सत्ताका लागि त्रिशंकु सरकार बनाउने अभ्यासले देशको राजनीति नै अस्थिरताको दुष्चक्रमा फस्यो । देउवा सरकारकै पालका सांसद किनबेच काण्ड, प्राडो तथा पजेरो काण्ड लगायत भ्रष्टाचार र बेथितिका अनेकौँ काण्ड भित्रिए । उनी प्रधानमन्त्री रहेकै बेला माओवादीले सशस्त्र विद्रोह थाल्यो । सत्ता टिकाउनका लागि जम्बो मन्त्रिपरिषद् बनाउने सुरुवात देउवाले नै गरेका थिए ।
२०५८ साल साउन ११ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामा दिएसँगै देउवा फेरि प्रधानमन्त्री बने । तर, माओवादी सशस्त्र विद्रोह देउवा सरकारले रोक्न सकेन । २०५९ असोज १८ गते देउवालाई असक्षम घोषणा गरी राजा ज्ञानेन्द्रले शासन सत्ता ‘टेकओभर’ गरे । ज्ञानेन्द्रको कदमलाई लिएर देशव्यापी आन्दोलन चर्कियो । चौतर्फी दबाबका कारण राजा ज्ञानेन्द्रले २०६१ साल जेठ ११ मा देउवा सरकार पुनर्बहाली गरे, तर आठ महिनामै ज्ञानेन्द्रले देउवा सरकार अपदस्थ गरी सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएका थिए ।
- पुष्पकमल दाहाल ‘प्रचण्ड’
२०६२ साल मंसिर ७ मा तत्कालीन शाही सत्ताविरुद्ध संसदवादी सात दल र विद्रोही नेकपा माओवादीबिच १२ बुँदे सम्झौता भयो । त्यसकै बलमा २०६२/०६३ मा भएको दोस्रो जनआन्दोलनले शाही सत्तामात्र होइन २४० वर्ष लामो राजतन्त्र नै ढल्यो ।

२०६४ सालमा भएको संविधान सभा निर्वाचनमा विद्रोही माओवादी सबैभन्दा ठुलो दल बन्यो । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २०६५ साल भदौ ३१ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री बन्न सफल भए । प्रधानमन्त्री बनेको नौ महिना नपुग्दै सेनापति रुकमाङ्गत कटुवाल प्रकरणमा उनले पदबाट राजीनामा दिए । प्रचण्ड सरकारले तत्कालीन प्रधान सेनापति कटुवाललाई हटाएर बलारथि कुलबहादुर खड्कालाई निमित्त प्रधान सेनापतिको जिम्मेवारी दिएका कारण त्यतिबेला देश मुठभेडको स्थितिमा पुगेको थियो । सरकारमै सहभागी भएको एमाले, प्रमुख प्रतिपक्ष दल कांग्रेस लगायत १८ दलले सरकारको निर्णय कार्यान्वयन नगर्न तत्कालीन राष्ट्रपति डा. रामवरण यादवसमक्ष निवेदन दिएका थिए । दलहरूको निवेदन र संविधानको संरक्षको हैसियतमा राष्ट्रपति यादवले सेनापतिमा कटुवाललाई नै थमौती गरेका थिए ।
- माधव कुमार नेपाल
_qUKRZ83Hwl.jpg)
प्रचण्डले पदबाट राजीनामा दिएपछि एमालेका नेता माधव नेपाल कांग्रेसको प्रस्तावमा २०६६ जेठ ११ गते प्रधानमन्त्री बन्न सफल भए । २०६४ सालमा भएको निर्वाचनमा नेपाल काठमाडौँ र रौतहट दुवै क्षेत्रबाट पराजित भएका थिए । दुई वटा क्षेत्रबाट पराजित भएर पनि नेपाल प्रधानमन्त्री भएकोमा पार्टीभित्रै विवाद उत्कर्षमा पुग्यो । बाहिर सबैभन्दा ठुलो दल माओवादीको चर्को आन्दोलन, पार्टीभित्र तत्कालीन अध्यक्ष झलनाथ खनाल समूहको असहयोगका कारण नेपालले २०६७ साल जेठमा राजीनामा दिए ।
- झलनाथ खनाल

एमालेकै वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि २०६७ साल माघ २२ गते प्रमुख प्रतिपक्ष दल माओवादीको समर्थनमा एमालेका अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री बने । उनी प्रधानमन्त्री भएसँगै पार्टीभित्र केपी ओली र नेपाल समूहले असहयोग गरेका कारण २०६८ भदौमा उनले राजीनामा दिए ।
- बाबुराम भट्टराई

नेकपा एकीकृत माओवादीभित्र तीन लाइन संघर्षको उत्कर्षमा पुगेको बेला बहुचर्चित धोवीघाट गठबन्धनका कारण तत्कालीन उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन अध्यक्ष प्रचण्ड बाध्य भएका थिए । साउनको अन्त्यतिर भट्टराई, मोहन वैद्य र नारायणकाजी श्रेष्ठबिच दोवीघाट गठबन्धन भएको थियो । गठबन्धनले भट्टराईलाई प्रधानमन्त्री बनाउने सहमति गरेको थियो । त्यही सहमति अनुसार उनी भदौ ११ मा प्रधानमन्त्री बनेका थिए ।
२०६९ साल जेठ १४ गते सर्वोच्च अदालतले संविधान सभाको म्याद नथप्ने फैसला गरेका कारण अप्ठ्यारोमा परेका प्रधानमन्त्री भट्टराईले संविधान सभा विघटन गरेका थिए ।
- सुशील कोइराला

२०६९ साल जेठ १४ गते पहिलो संविधान सभाको अवसान भएपछि २०७० सालमा दोस्रो संविधान सभा निर्वाचन भयो । त्यस निर्वाचनमा कांग्रेस सबैभन्दा ठुलो दल बन्यो । एमाले दोस्रो र माओवादी तेस्रो दलमा खुम्चियो । संविधान निर्माणलाई मुख्य कार्यभार बनाएको कांग्रेस–एमालेले गठबन्धन सरकार बनाउने सहमति गर्यो । एमालेको समर्थनमा कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला माघ २७ गते प्रधानमन्त्री बने ।
कोइरालाकै नेतृत्वमा २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बन्यो । संविधान बने लगत्तै सत्ता सहयात्री दल एमालेले सत्ता छाड्न दबाब दियो । एमालेका अध्यक्ष केपी ओलीले प्रमुख प्रतिपक्ष दल माओवादीसँग मिलेर सरकार गठन गर्ने सहमति गर्यो । एमाले–माओवादीबाट आसोज २५ गते ओली प्रधानमन्त्री बने ।
- केपी ओली
२०७१ सालमा भएको एमालेको नवौँ महाधिवेशनबाट नेतृत्वमा आएका केपी ओली पार्टीभित्र र बाहिर शक्तिशाली बन्दै गए । २०७२ सालमा पहिलो पटक प्रधानमन्त्री बनेका उनी माओवादीको असहयोगका कारण ९ महिनामै सत्ता ढल्यो । २०७४ सालमा माओवादीसँग पार्टी एकता गर्ने सर्तसहित वामपन्थी गठबन्धन बनाउने सहमति भएको थियो । निर्वाचनमा वाम गठबन्धनले झन्डै दुई तिहाइ सिट जित्यो । मधेस प्रदेशबाहेक अन्य ६ वटा प्रदेशमा वाम गठबन्धनले अत्यधिक बहुमत ल्यायो । पूर्वसहमति अनुसार ओली फागुन ३ गते प्रधानमन्त्री बन्न सफल भए । जननेता मदन कुमार भण्डारीको स्मृति दिवसको अवसर पारेर २०७५ साल जेठ ३ गते एमाले र माओवादी मिलेर पार्टी एकता गरी नेपाल कम्युनिस्ट पार्टी गठन भयो ।

जनमतबाट शक्तिशाली प्रधानमन्त्री बनेका ओली विस्तारै अलोकप्रिय बन्दै गए । ओली–प्रचण्डबिच सत्ता र शक्ति संघर्षका कारण नेकपा नै विघटन भयो । आन्तरिक विवाद देखाएर ओलीले २०७७ साल पुस ५ र २०७८ साल जेठ ८ मा दुई–दुई पटक संसद विघटन गरे । २०७७ साल फागुन २३ गते सर्वोच्च अदालतको आदेश अनुसार नेकपा खारेज भयो । २०७८ साल असार २८ गते ओली सरकारले गरेको संसद् विघटन सर्वोच्च अदालतले विघटनमात्र गरेन, सरकारलाई परमादेशबाट बर्खास्त गरिदिएको थियो । पछिल्लो पटक कांग्रेसको समर्थनमा २०८१ असार ३० मा प्रधानमन्त्री भएका ओली गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट सत्ताच्यूत भएका थिए । देशको न्यायालय र जनविद्रोहबाट सत्ताच्यूत हुने प्रधानमन्त्रीमा ओलीले खराब नजिर इतिहासमा दर्ज गरेका छन् ।
२०८२ साल फागुनमा भएको निर्वाचनमा ओलीको पार्टी एमालेमात्र होइन, पटक पटक सत्तामा गएका कांग्रेस, माओवादी, मधेस केन्द्रित दल, राप्रपा लगायत दलहरूले ठुलो धक्का बेहोरे । चार वर्षअघि खुलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झन्डै दुई तिहाइ मत ल्यायो । अहिले रास्वपाका वरिष्ठ नेता वालेन्द्र (बालेन) शाह प्रधानमन्त्री बनेका छन् । जेनजी आन्दोलनपछि बलियो शक्तिमा उभिएको बालेन सरकार पूरै कार्यकाल जान्छ वा जाँदैन त्यो भविष्यकै गर्भमा छोडौँ ।
