काठमाण्डौ – आज विश्व प्राथमिक उपचार दिवस । ‘बसाइँसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने मूल नाराका साथ नेपालसहित विश्वभर मनाइँदैछ ।
विपद्, बाढीपहिरो र अवसरको खोजीमा मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा बसाइँसराइ गर्न बाध्य छन् । बसाइँसराइको यात्राका क्रममा धेरैले थकान, कुपोषण, आघातजन्य चोटपटक, मानसिक तनाव र दुर्व्यवहार जस्ता अनेकौँ शारीरिक तथा मनोवैज्ञानिक जोखिमहरूको सामना गर्नुपर्ने हुन्छ । यस्तो कठिन र आकस्मिक अवस्थामा घाइते वा बिरामीको जीवन रक्षा गर्न र उनीहरुको स्वास्थ्य अवस्था थप बिग्रन नदिन प्राथमिक उपचारको ज्ञान र सीप अत्यन्तै महत्वपूर्ण हुन्छ ।
यसै अवसरमा नेपाल रेडक्रस सोसाइटीले विज्ञप्ति निकालेर महामारी, दुर्घटना, विपद् र द्वन्द्वका बेला प्राथमिक उपचारको आवश्यकता झनै बढ्ने कुरामा जोड दिएको छ । भर्खरैको भोटेकोशी बाढीमा पनि रेडक्रसका प्रशिक्षित स्वयंसेवकहरूले दिएको प्राथमिक उपचार र मनोवैज्ञानिक सेवाले यसको महत्वलाई थप पुष्टि गरेको छ । प्राथमिक उपचारको ज्ञान र अभ्यासलाई व्यापक बनाउन नेपाल रेडक्रसले हरेक घरमा एक प्राथमिक उपचारकर्ता भन्ने अभियानलाई सार्थक बनाउन सबैमा आह्वान गरेको छ ।
