चितवन । चितवनको खैरहनीमा लागूऔषध दुर्व्यसनबाट हुने नकारात्मक असर तथा यसको रोकथामका उपायबारे विद्यार्थीहरूलाई सचेत गराउने उद्देश्यले एक विशेष सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय खैरहनीको आयोजना तथा सुनगाभा कलेज/डेजी स्कुल र म्याङ्गो जनज्योति सिनेमा हलको सह–आयोजनामा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूका लागि सचेतनामूलक वृत्तचित्र प्रदर्शन गरिएको हो।
म्याङ्गो जनज्योति सिनेमा हलमा आयोजित उक्त कार्यक्रममा सुनगाभा कलेजको व्यवस्थापन संकायमा अध्ययनरत १०३ जना छात्रा र १४२ जना छात्र गरी २४५ जना विद्यार्थीका साथै शिक्षक, कर्मचारी, अभिभावक तथा प्रहरी प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा कुल ३०० जना जतिको उपस्थिति रहेको आयोजकले जनाएको छ।
कार्यक्रमका दौरान इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सागर पन्तले लागूऔषध दुर्व्यसनले व्यक्ति, परिवार र सिङ्गो समाजमा पार्ने दीर्घकालीन असरबारे प्रकाश पार्दै विद्यार्थीहरूलाई यस्ता कुलत र विकृतिबाट सधैँ टाढा रहन आग्रह गर्नुभयो। युवा तथा विद्यार्थीहरूलाई दुर्व्यसनको जोखिमबाट जोगाउन परिवार, विद्यालय र प्रहरी प्रशासनबीच निरन्तर सहकार्य र समन्वय आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो।
त्यसैगरी सुनगाभा कलेजका प्राचार्य हरिप्रसाद सापकोटाले विद्यार्थी जीवनमा अनुशासन, सकारात्मक सोच र असल संगतको ठूलो महत्त्व हुने बताउनुभयो। उहाँले दुर्व्यसनजस्ता सामाजिक अपराध र कुलतविरुद्ध स्वयं विद्यार्थीहरू नै पहिलो पंक्तिमा उभिएर सचेत हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। सहभागी विद्यार्थीहरूले पनि वृत्तचित्र प्रदर्शनीमार्फत लागूऔषधका कारण आउने सामाजिक, पारिवारिक र स्वास्थ्यसम्बन्धी गम्भीर समस्याबारे व्यवहारिक ज्ञान हासिल गर्न पाएको प्रतिक्रिया दिएका छन्।
यसै कार्यक्रमको अवसर पारेर सुनगाभा कलेजमा हालै आयोजित ‘बाढी–पहिरो आउनुको कारण र यसबाट बच्ने उपायहरू’ विषयक पोस्टर प्रस्तुतीकरण प्रतियोगिताका विजेताहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै क्रिस्टिना अधिकारी प्रथम, मान्सी ठाकुर द्वितीय र सृष्टि श्रेष्ठ तृतीय हुन सफल भएका थिए।
लागूऔषध दुर्व्यसनविरुद्ध विद्यार्थीहरूमा चेतना अभिवृद्धि गर्दै समाजमा स्वस्थ, अनुशासित र जिम्मेवार नागरिक निर्माण गर्न यस्ता कार्यक्रमले सकारात्मक र दूरगामी योगदान पुर्याउने विश्वास आयोजक पक्षले व्यक्त गरेको छ।
